गृहपृष्ठ Featured कपिलवस्तुमा २० वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी १३ वर्षपछि समातिए

कपिलवस्तुमा २० वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी १३ वर्षपछि समातिए

कपिलवस्तु ।

कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई लामो समयदेखि फरार रहेका एक प्रतिवादीलाई प्रहरीले १३ वर्षपछि पक्राउ गरेको छ। पक्राउ पर्नेमा बुद्धभूमि नगरपालिका–५, मोहम्मदनगर निवासी इरफान भन्ने क्यामुद्दिन मुसलमान रहेका छन्। उनलाई कपिलवस्तु जिल्ला अदालतले २० वर्ष (जन्मकैद) कैद सजाय तोकेको थियो।

प्रहरीका अनुसार मनउल्ला मुसलमानको जाहेरीका आधारमा दायर मुद्दामा कपिलवस्तु जिल्ला अदालतले २०६९ चैत १६ गते क्यामुद्दिन मुसलमानलाई दोषी ठहर गर्दै २० वर्ष कैद सजाय हुने फैसला सुनाएको थियो। फैसला सुनाएपछि उनी फरार रहँदै आएका थिए।

फरार प्रतिवादीको खोजतलासलाई विशेष सूचनाका आधारमा तीव्र पारिएको र सोही क्रममा जिल्ला प्रहरी कार्यालय कपिलवस्तु तथा इलाका प्रहरी कार्यालय पकडीको संयुक्त टोलीले फागुन ५ गते मायादेवी गाउँपालिका–१, बर्रोहियाबाट लुकिछिपी बसेको अवस्थामा उनलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक (डीएसपी) रिपेन्द्र कुमार सिंहले जानकारी दिनुभयो।

प्रहरीका अनुसार पक्राउ परेका प्रतिवादीलाई कैद भुक्तानका लागि अदालतमा पेश गरी आवश्यक प्रक्रिया पूरा गरी कारागार चलान गरिएको छ।

सूचना अधिकारीसमेत रहनुभएका डीएसपी सिंहले फरार प्रतिवादीहरूको खोजी कार्य निरन्तर जारी रहेको बताउँदै आगामी दिनमा समेत अभियानलाई थप प्रभावकारी बनाइने जानकारी दिनुभयो।

सम्बन्धित् समाचार