दाङ- लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रजातन्त्रको रक्षा राजनीतिक संरचनासँगै सुशासन, पारदर्शिता, उत्तरदायित्व र विधिको शासनको प्रभावकारी कार्यान्वयनबाट सम्भव हुने बताएका छन्।
राष्ट्रिय प्रजातन्त्र दिवस, २०८२ का अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले लोकतन्त्रलाई जनजीवनसँग जोड्दै सामाजिक न्याय, समान अवसर र आर्थिक रूपान्तरण सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्।
उनले वि.सं. २००७ साल फागुन ७ गते जहानियाँ राणा शासनको अन्त्यसँगै स्थापित प्रजातान्त्रिक आधारले आजको संघीय लोकतान्त्रिक गणतन्त्रको जग बसालेको उल्लेख गरे। उक्त ऐतिहासिक उपलब्धिले नेपाली समाजलाई अधिकारप्रति सचेत, राजनीतिक रूपमा जागरूक र परिवर्तनप्रति प्रतिबद्ध बनाएको उनको भनाइ छ।
मुख्यमन्त्री आचार्यले प्रजातन्त्र स्थापनाका लागि जीवन अर्पण गर्ने अमर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरे। साथै विभिन्न चरणका आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने अग्रज तथा लोकतन्त्रप्रेमी नागरिकप्रति सम्मान प्रकट गरेका छन्।
उनले जनताको एकता र संकल्प भए अन्याय, निरंकुशता र विभेदलाई पराजित गर्न सकिने सन्देश यस दिवसले निरन्तर दिँदै आएको उल्लेख गरे। लोकतान्त्रिक संस्कार, सहिष्णुता र आपसी सम्मानलाई व्यवहारमा उतार्न सके मात्र प्रजातन्त्रको सार्थकता स्थापित हुने उनको धारणा छ।
राष्ट्रिय प्रजातन्त्र दिवसले लोकतान्त्रिक मूल्य र मान्यताप्रति पुनः प्रतिबद्ध हुने अवसर प्रदान गरेको उनले बताए।








