गृहपृष्ठ अन्तरास्ट्रिय खबर चीनसँग सुपरसोनिक क्षेप्यास्त्र किन्ने इरानको अन्तिम तयारी

चीनसँग सुपरसोनिक क्षेप्यास्त्र किन्ने इरानको अन्तिम तयारी

फाइल फाेटाे

इरान चीनसँग सुपरसोनिक एन्टी–सिप क्रुज क्षेप्यास्त्र खरिद गर्ने सम्झौताको अन्तिम चरणमा पुगेको छ । इरान चीनमा निर्मित सिएम ३०२ क्षेप्यास्त्र खरिदबारे सहमति नजिक पुगेको समाचारसंस्था रोयटर्सले जनाएको छ ।

झन्डै २ सय ९० किलोमिटर पर निसाना लगाउन सक्ने क्षमता भएको यो सुपरसोनिक क्षेप्यास्त्र समुद्री जहाजको प्रतिरक्षा प्रणालीमा छल्न सक्ने क्षमता छ । हतियार विज्ञका अनुसार यी क्षेप्यास्त्र तैनाथ भए इरानको समुद्री आक्रमण क्षमता उल्लेखनीय रूपमा बढ्नेछ र क्षेत्रीय रूपमा तैनाथ अमेरिकी नौसैनिक शक्तिका लागि ठूलो चुनौती बन्न सक्ने छ ।

यो क्षेप्यास्त्र किन्ने वार्ता कम्तीमा २ वर्षअघि शुरु भए पनि गएको जुनमा भएको १२ दिने इजरायल–इरान द्वन्द्वपछि तीव्र बनेको खबरमा उल्लेख छ । वार्ता अन्तिम चरणमा पुग्दा इरानका उपरक्षामन्त्री मसूद ओराइ लगायत उच्च सैन्य तथा सरकारी अधिकारीहरू चीन भ्रमणमा गएका सुरक्षा अधिकारीहरूले बताएका छन् ।

चीनका परराष्ट्र तथा रक्षा मन्त्रालयले यसबारे औपचारिक प्रतिक्रिया दिएका छैनन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरानलाई आणविक कार्यक्रमबारे सहमति नगरे कडा कदम चाल्ने चेतावनी दिँदै आउँनुभएको छ । अमेरिकाले इरान नजिकै ठूलो नौसैनिक शक्ति तैनाथ गरिरहेको छ ।

विश्लेषकहरूका अनुसार यो सम्झौताले चीन–इरान सैन्य सम्बन्ध अझ सुदृढ भएको सङ्केत गर्दछ । पछिल्ला वर्षहरूमा चीन, इरान र रुसले संयुक्त नौसैनिक अभ्यास गर्दै आएका छन् । यो सम्भावित सम्झौताले मध्यपूर्व क्षेत्रमा बढ्दो तनावबीच शक्ति सन्तुलनमा नयाँ आयाम थप्ने विश्लेषकहरूको भनाइ छ ।

सम्बन्धित् समाचार