गृहपृष्ठ Featured लिङदेनले भने- ‘फेसबुक र टिकटक हेरेर होइन, यथार्थको धरातलमा टेकेर मतदान गर्नुस्’

लिङदेनले भने- ‘फेसबुक र टिकटक हेरेर होइन, यथार्थको धरातलमा टेकेर मतदान गर्नुस्’

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले सामाजिक सञ्जालको प्रभावमा नपरी यथार्थको आधारमा मतदान गर्न मतदातालाई आग्रह गरेका छन् ।

बिहीबार काठमाडौँको निर्वाचन क्षेत्र नम्बर दुईको चुनावी अभियानलाई सम्बोधन गर्दै उनले फेसबुक, टिकटक र रिल्सजस्ता सामाजिक सञ्जालका सामग्रीको प्रभावमा नपर्न आग्रह गरेको हो ।

विशेषगरी युवापुस्तालाई लक्षित गर्दै उनले सामाजिक सञ्जालका सामग्रीको नभई वास्तविक धरातललाई हेरेर निर्णय लिन आग्रह गरे । उनले यस पटकको निर्वाचन केवल एक सांसद छान्ने वा सरकार बनाउने प्रक्रिया मात्र नभएको उल्लेख गर्दै देशको भविष्यसँग जोडिएको निर्णायक मोड भएको बताए ।

उनले हाल देशको अस्तित्व नै संकटमा परेको बताए । उनले नेपाल प्रथम भन्ने सोचलाई केन्द्रमा राखेर प्रत्येक मतदाताले हजार पटक सोचेर मात्र मतदान गर्नुपर्नेमा जोड दिए ।

अध्यक्ष लिङदेनले विगतमा असफल भएका र स्पष्ट दृष्टिकोण नभएका दल तथा नेतृत्वलाई पुनः मत दिएर गल्ती दोहोर्याउने कि नगर्ने भन्ने निर्णय मतदाताकै हातमा रहेको बताए । उनका अनुसार देशमा शान्ति, विकास र स्थिरताको लागि राप्रपा नै एकमात्र विकल्प हो । उनले राप्रपाले नयाँ र पुराना सबै राजनीतिक शक्तिहरूलाई समन्वय गरेर अघि बढाउन सक्ने दाबी गरे ।

उनले भने,‘यो पटकको निर्वाचन एक थान सांसद चुन्ने मात्रै होइन, एउटा सरकार निर्माण गर्ने चुनाव मात्रै होइन । अहिले हामी विशिष्ट परिस्थितिका बीच यो निर्वाचनमा प्रवेश गरेका छौँ । हामी अहिले देशै रहन्छ कि रहँदैन भन्ने अवस्थामा छौँ । त्यसकारण देशलाई केन्द्रमा राखेर नेपाल प्रथम, नेपाली प्रथम भन्ने कुरालाई केन्द्रमा राखेर तपाई हरेक मतदाताले आफ्नो अमूल्य मतदान गर्नुभन्दा अगाडी हजार पटक सोचेर मात्रै मतदान गर्नुस् । पटकपटक असफल भएकाहरु, कुनै दृष्टिकोण स्पष्ट नभएकाहरुलाई मतदान गरेर फेरी पनि हामीले गल्ती गर्ने कि नगर्ने ? त्यो च्वाईस तपाईहरुको हातमा छ । यो देशमा शान्ति, विकास र स्थिरताको लागी तपाईहरुले खोजेको एकमात्र विकल्प भनेको राप्रपा मात्रै हो । राप्रपाले मात्रै नयाँ पुराना सबै राजनितिक शक्तिहरुलाई मिलाएर अगाडी लैजान सक्छ । आज देशमा कुनै समन्वयकारी शक्ति छ भने त्यो राप्रपा मात्रै हो । त्यसैले राप्रपा आगामी संसदमा बलियो शक्तिको रुपमा हुन जरुरी छ । आज देश तपाई हामीले सामान्य आँखाले देखेजस्तो छैन । नेपालको निर्णायकत्व नेपाली जनताको हातबाट बाहिर गईसक्यो । कुन प्रकारको वैदेशिक हस्तक्षेप, कुन प्रकारको विदेशीहरुको चलखेल भएको छ भन्ने तपाई काठमाडौबासीहरुले देख्नुभएको छ । त्यसकारण लहैलहैमा फेसबुक हेरेर, टिकटक हेरेर, रिल हेरेर भोट दिएर आफ्नो भविष्य विगार्ने काममा आफ्नै हातलाई प्रयोग नगर्नुस् । खासगरि युवा पुस्ता जो फेसबुक, रिल्स र टिकटकको पछि कुदिँराख्नुभएको छ, त्यो युवा पुस्तालाई म आग्रह गर्न चाहन्छु, तपाई आफ्नो भविष्य उज्जव भएको देख्न चाहनुहुन्छ भने तपाईंको पूर्खाले नासोको रुपमा तपाईलाई सुम्पिएको यो स्वाधिन नेपाललाई आउने पुस्तालाई पनि त्यत्तिकै स्वतन्त्र र स्वाधिन रुपमा, अखण्ड रुपमा बुझाउ चाहनुहुन्छ भने टिकटक रिल्स र फेसबुकको पछि लागेर होइन, यर्थाथको धरातल टेकेर हलो चिन्हमा मतदान गर्न म आग्रह गर्न चाहन्छु ।’

नेपालको निर्णायकत्व नेपाली जनताको हातबाट बाहिर जान थालेको उल्लेख गर्दै उनले त्यसलाई रोक्न आगामी संसदमा राप्रपालाई बलियो शक्तिका रूपमा स्थापित हुनुपर्ने आवश्यकता औँल्याए । वैदेशिक हस्तक्षेप र विदेशी चलखेलबारे काठमाडौँवासी सचेत रहेको उनको भनाई छ ।

अध्यक्ष लिङदेनले देश जोगाउनका लागि र काठमाडौँ निर्वाचन क्षेत्र नम्बर २ को सहित देशभरको विकासका लागि राप्रपाका उम्मेदवारलाई विजयी गराउन आह्वान गरे ।

सम्बन्धित् समाचार