वैखरी अनलाईन, बाणगंगा ।
नेपाली कांग्रेसका तर्फबाट कपिलवस्तु निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार अतहर कमाल मुसलमानले आफूहरूको जित फराकिलो मतान्तरले सुनिश्चित हुने दाबी गरेका छन्।
वैखरी मिडियासंगको कुराकानीका क्रममा उनले कांग्रेसप्रति जनताको विश्वास अझै बलियो रहेको बताएका हुन्।
कमालले जनताले विकास, सुशासन र स्थायित्वको पक्षमा मत दिने विश्वास व्यक्त गर्दै कपिलवस्तु–१ मा कांग्रेसको पक्षमा उत्साहजनक माहोल देखिएको बताए। “जनताले परिवर्तनसँगै विकासको स्पष्ट दिशा खोजिरहेका छन्, त्यसैले यसपटक कपिलवस्तु–१ मा कांग्रेसले फराकिलो मतान्तरले जित हासिल गर्छ,” उनले भने।
उनका अनुसार निर्वाचनपछि क्षेत्रका मुख्य समस्या समाधान गर्दै विकासका कामलाई तीव्र गतिमा अघि बढाइनेछ। सडक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीका क्षेत्रमा ठोस योजना बनाएर कार्यान्वयन गरिने उनले बताए।
कमालले आफू निर्वाचित भएमा कपिलवस्तुको समग्र विकासलाई प्राथमिकतामा राख्दै युवालाई रोजगारी, किसानलाई सहुलियत र स्थानीय पूर्वाधार विकासलाई विशेष जोड दिने प्रतिबद्धता व्यक्त गरे।
“जनताको भरोसा जितेर संसदमा पुगेपछि कपिलवस्तु–१ को विकासलाई नयाँ गति दिनेछौं,” उनले भने, “यस क्षेत्रमा देखिएका विकासका अवरोध हटाएर समृद्ध कपिलवस्तु निर्माण गर्ने हाम्रो लक्ष्य हो।”








