काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईस्थित अमेरिकी वाणिज्य दूतावास क्षेत्रमा ड्रोन आक्रमणपछि आगलागी भएको छ ।
आगोलाई सफलतापूर्वक नियन्त्रणमा लिइएको जानकारी दिँदै सरकारी सञ्चार माध्यमले भनेको छ, “आपतकालीन टोलीहरूले तुरुन्तै प्रतिक्रिया दिए । कुनै हताहतीको रिपोर्ट गरिएको छैन ।”
सामाजिक सञ्जालमा पोस्ट गरिएका भिडियोहरूमा भवनबाट ठूलो ज्वाला र धुवाँको मुस्लो निस्किएको देखिन्छ ।
यसअघि, मंगलबार इरानले साउदी अरबस्थित अमेरिकी दूतावासमा आक्रमण गरेको थियो ।
यसैबीच, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले वाणिज्य दूतावासको भवनसँगै जोडिएको पार्किङ क्षेत्रमा ड्रोन प्रहार भएको पुष्टि गरेका छन् ।
उनले भने, “मैले दुबईको वाणिज्य दूतावासका बारेमा सञ्चारमाध्यमका रिपोर्टहरू देखेको छु । क्यामराअगाडि आउनु केही सेकेन्डअघिको पछिल्लो जानकारीअनुसार, एउटा ड्रोन दुर्भाग्यवश चान्सरी भवनसँगै जोडिएको पार्किङ क्षेत्रमा ठोक्कियो र आगलागी सुरु भयो ।”
“सबै कर्मचारीहरू सम्पर्कमा छन् । तपाईंहरूलाई थाहै छ, हामीले यसअघि नै हाम्रा कूटनीतिक सुविधाहरूबाट कर्मचारीहरू कटौती गर्न सुरु गरिसकेका थियौँ,” रुबियोले अगाडि भने ।
उनले दूतावास र कूटनीतिक सुविधाहरू एक आतंकवादी शासनको प्रत्यक्ष आक्रमणमा परेको बताएका छन् ।
यो वाणिज्य दूतावास सहरको घना जनसंख्या भएको क्षेत्रमा अवस्थित छ, जुन बेलायती दूतावास र साउदी वाणिज्य दूतावासको नजिकै पर्छ । बीबीसी








