काठमाडौँ- अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले ‘प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२’ का लागि देशभर पूर्ण रूपमा सुरक्षाको प्रत्याभुति गरिएको बताएका छन् ।
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, धाँधलीरहित र भयमुक्त वातावरणमा सम्पन्न गर्न सरकारले सम्पूर्ण तयारी पूरा गरेको बताएका हुन् । उनले मतदातालाई ढुक्क भएर मतदानमा सहभागी हुन अपिल गरेका हुन् ।
गृहमन्त्री अर्यालले निर्वाचन सुरक्षा, मतपत्र तथा मतपेटिका ढुवानीको स्पष्ट मापदण्ड, उश्रृङ्खल गतिविधि गर्नेमाथि कडा कारबाही हुने बताए । गृहमन्त्री अर्यालकाअनुसार सरकारले निर्वाचनका लागि ‘एकीकृत सुरक्षा योजना’ पारित गरी सोही आधारमा सुरक्षा संयन्त्रहरू परिचालन गरिसकेको छ । अहिले देशभरका सबै मतदान स्थलहरूमा सुरक्षाकर्मीहरू पुगिसकेका छन् ।
उनले भने,‘ प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ एकीकृत सुरक्षा योजना पारित गरेर त्यसैको आधारमा हाम्रा संयन्त्रहरु परिचालित छन् । त्यो अनुसार अब सबै अहिले सुरक्षा संयन्त्रहरु मतदान स्थलसम्म पुगेका छन् । र अब जतिखेर जे आवश्यक पर्छ, परिएको अवस्थामा सुरक्षाको अवस्थालाई काबुमा राख्ने, सहजीकरण गर्ने गरि देशभरि नै पूर्ण रुपमा अहिले सुरक्षाको प्रत्याभुति दिएको अवस्था छ ।’
गृहमन्त्री अर्यालले सुरक्षा व्यवस्था मजबुत रहेकाले कुनैपनि प्रकारको असुरक्षाको महशुस गर्नुन पर्ने स्पष्ट पारे ।








