दाङ । मतदान सुरु भएको तीन घण्टा बढी समय भैसक्दा पनि दाङका दुई मतदान केन्द्रमा मतदान हुन सकेको छैन । बबई गाउँपालिका-१ जिलास्थीत जनता आधारभुत विद्यालय र वडा नम्बर ७ तल्लो मलैखोला स्थीत देउती मावि मलईमा अहिलेसम्म मतदान हुन सकेको छैन ।
मतदानका लागि सम्पूर्ण तयारी पूरा गरेर मतदान केन्द्रमा कर्मचारीहरु तयारी अवस्था रहे पनि मतदानका लागि मतदाताहरु नआएको जनता आधारभुत विद्यालय जिलाका मतदान अधिकृत चिरञ्जीवी खड्काले जानकारी दिएका छन् । उनका अनुसार जनता आधारभुत विद्यालय जिलामा ६८२ जना मतदाता रहेका छन् ।
त्यसैगरि वडा नम्बर ७ तल्लो मलैखोला स्थीत देउती मावि मलैखोलामा पनि अहिलेसम्म मतदान हुन नसकेको मतदान अधिकृत टेकबहादुर केसीले जानकारी दिएका छन । बबई गाउँपालिका-१ र ७ अन्तरगत बाके राष्ट्रिय निकुञ्जको मध्यबर्ती क्षेत्रमा बसोबास गर्ने स्थानीयले बस्ती स्थान्तरणकाे माग राख्दै निर्वाचनमा मतदान नगर्ने अडान राख्दै आएका छन् ।
उक्त क्षेत्रका मतदातालाई निर्वाचनमा सहभागी गराउने प्रयास भएपनि निर्वाचनको प्रक्रिया अझै सहभागी नभएको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले बताएका छन् । आन्दाेलनरत बाँके राष्ट्रिय निकुञ्ज पिडित दाङ मध्यवर्ती बबई ७ देउती मावि मलैखोला मतदान केन्द्र र बबई १ जनता आवि जिल्ला मतदान केन्द्रमा अहिलेसम्म मत खसेकाे छैन ।








