नेकपा एमाले मकवानपुर अध्यक्ष श्रीधर पोखरेलले पदबाट राजीनामा दिएका छन्।
प्रतिनिधि सभा सदस्य निर्वाचनमा मकवानपुरका दुवै क्षेत्रमा पार्टी हार व्यहोरेपछि पोखरेलले उक्त हारको जिम्मेवारी लिएका हुन्।
‘नेकपा माले हुँदै एमालेको ४५ वर्षे यात्रामा अहिले पार्टीले जुन परिणाम भोग्नुपरेको छ, त्यसको कारण के हो भन्ने विषयमा गम्भीर समीक्षा हुन आवश्यक छ। यो परिणामको वास्तविक कारण पहिचान गर्न नसकी गोलमटोल भाषामा मात्र व्यक्त हुने, ईष्र्या र घमण्डपूर्ण प्रवृत्तिबाट समस्याको समाधान सम्भव हुँदैन,’ उनले लेखेका छन्, ‘त्यसैले तलदेखि माथिसम्म सबैले आत्मसमीक्षा गरी आफ्नो–आफ्नो जिम्मेवारी ग्रहण गर्नुपर्ने आजको माग हो।’
उनले पार्टीलाई सही दिशामा अघि बढाउन पार्टी अध्यक्षदेखि महासचिव लगायत सबैले आफ्नो जिम्मेवारी स्वीकार गर्दै आत्मसमीक्षा गर्नुपर्ने बताएका छन्। आवश्यक परे जिम्मेवारी लिएर राजीनामा दिँदै पार्टी पुनर्गठनका लागि नेतृत्वकाले बाटो प्रशस्त गर्नुपर्ने बताएका छन्।
‘आगामी दिनमा पार्टीलाई जीवित र सुदृढ राख्ने हो भने यस यथार्थलाई आत्मसात् गर्दै जिम्मेवारी लिनैपर्छ। यसै सन्दर्भमा, आजकै दिनदेखि लागू हुने गरी म आफ्नो अध्यक्ष पदबाट राजीनामा दिने घोषणा गर्दछु। र अब आउने युवाहरूलाई मेरो साथ र सहयोग पूर्ण रूपमा रहनेछ। आशा छ, नयाँ युवा पुस्ताले यस पार्टीलाई सही दिशा र ढंगबाट अगाडि बढाउनुहुनेछ,’ उनले भनेका छन्।
पोखरेल २०८१ जेठमा भएको जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका थिए। उनी पहिले एकीकृत समाजवादीमा गएर पछि एमालेमै फर्किएका थिए।








