काठमाडौं ।
विश्वकपको दशौं संस्करणमा उपविजेता बनेपछि नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज टिम पोखरा एभेन्जर्सले टिमबाट एनपीएलको दोस्रो संस्करण खेलेका अलराउन्डर जिमी निशमलाई सामाजिक सञ्जालमार्फत बधाई दियो ।
जिमी एनपीएलको दुवै संस्करणमा चर्चाको केन्द्रमा आएका क्रिकेटर हुन् । एनपीएलको पहिलो संस्करणमा जनकपुर बोल्ट्सलाई उपाधि दिलाउन होस् या दोस्रो संस्करणमा पोखराको प्रदर्शनलाई उकास्न, जिमीले महत्वपूर्ण भूमिका खेलेका थिए ।
सोमबार पनि जिमी पुनः नेपाली क्रिकेटमा चर्चामा आएका छन् । विश्वकपमा गरेको प्रदर्शनको प्रशंसा गर्दै पोखराले सामाजिक सञ्जालमार्फत दिएको बधाईको पोष्टमा गरेको कमेन्टका कारण उनी चर्चामा छन् ।
“टी–२० विश्वकपको फाइनलको १६औँ ओभरमा जिमीले उत्कृष्ट बलिङ गरेका छन् । विश्वकपको मञ्चमा जिमीको यो स्पेल उत्कृष्ट छ । तर, न्युजिल्यान्ड उपविजेतामा सीमित भयो । एनपीएलको दोस्रो संस्करणमा पोखरा एभेन्जर्समा समावेश गर्न पाउँदा टिम गौरवान्वित छ,” पोखराले सामाजिक सञ्जालमा लेखेको छ ।
जवाफमा निशमले भनेका छन्, “खेलाडीहरूको पारिश्रमिक उपलब्ध गराउनू (कुल, पे योर प्लेयर्स) ।” जिमीको यो कमेन्टसँगै यति बेला सामाजिक सञ्जालमा पोखरा एभेन्जर्सको चर्काे आलोचना भइरहेको छ । क्रिकेट समर्थकहरूले खेलाडीहरूको पारिश्रमिक दिन नसकेको भन्दै पोखराको आलोचना गरेका छन् । निशमले दोस्रो संस्करणमा पोखराबाट चार खेल खेलेका थिए । जसमा अलराउन्डर उनले बलिङतर्फ पाँच विकेट लिएका थिए भने ब्याटिङतर्फ ९९ रन जोडेका थिए ।








