गृहपृष्ठ Featured ‘बालेन सरकारमा मन्त्री बन्न मिडिया ट्रायल आवश्यक छैन’

‘बालेन सरकारमा मन्त्री बन्न मिडिया ट्रायल आवश्यक छैन’

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह झापा- ५ बाट निर्वाचित भएसँगै प्रधानमन्त्री बन्ने तयारीमा छन्। रास्वपा उनलाई नै प्रधानमन्त्रीको उम्मेदवार बनेर मैदानमा ओर्लिएको थियो। झापा ५ मा नेकपा एमालेका अध्यक्ष केपी ‌शर्मा ‌ओलीलाई झन्डै ५० हजार मतले पराजित गरेसँगै उनी प्रधानमन्त्रीको कुर्सीमा बस्ने तयारीमा छन्।

यद्यपि उनी प्रधानमन्त्री बन्ने तथा अन्य मन्त्रीहरूका विषयमा रास्वपाभित्र हल्लाखल्ला सुरु भएको छ।

रास्वपाका उपसभापति डोरप्रसाद अर्यालले काठमाडौँ- ९ बाट जितेसँगै सञ्चारकर्मीहरूसँग कुरा गर्दा बालेन तथा पार्टी सभापति रवि लामिछानेको सहमतिबारे आफूलाई थाहा नपाएको प्रतिक्रिया दिएका थिए। बालेन प्रधानमन्त्री बन्नेबारे कुनै सहमति नभएको आशयको प्रतिक्रिया उनले सञ्चारकर्मीहरूलाई दिएका छन्। यद्यपि रास्वपाले यसको खण्डन गरिसकेको छ।

त्यस्तै. तनहुँ १ बाट निर्वाचित रास्वपाका अर्का उपसभापति स्वर्णिम वाग्लेले अर्थमन्त्रालय सम्हाल्ने हल्लाका बीच बालेन निकट रास्वपा नेता असिम शाहले भने मन्त्री बन्न कुनै पनि दौडधूप नगर्न रास्वपाका नवनिर्वाचित सांसदहरूलाई सुझाएका छन्।

उनले लेखेका छन्-  मन्त्री बन्न  दौडधूप गर्न, भनसुन गर्न, मिडिया ट्रायल गर्न वा प्रचार गर्न आवश्यक छैन। केही नगरे पनि हुन्छ। जब बालेन शाह प्रधानमन्त्रीका रूपमा नियुक्त हुनुहुन्छ, उहाँले आफ्नो क्याबिनेटको टिम आफैँ छनोट गरेर बनाउनुहुनेछ। उहाँलाई सबै सांसदको योग्यता र क्षमताबारे राम्रो जानकारी छ।’ उनले मन्त्री बन्न ककसले मिडिया ट्रायल वा भनसुन गरे भन्ने संकेत गरेका छैनन्।

यद्यपि पछिल्ला केही घटनाहरूले रास्वपाको संस्थापन पक्ष र बालेन पक्षबीच मन्त्री बन्न हतार सुरु भइसकेको संकेत गरेको छ।

प्रत्यक्षतर्फ गणना भइसकेका १६४ स्थानमध्ये रास्वपा १२५ स्थानसहित दुई तिहाइको बाटोमा छ। समानुपातिकतर्फ उसले ४६ लाख मत कटाइसकेको छ।

मतगणनापछि बन्ने बलियो सरकारमा मन्त्री बन्न चाहना राख्नेहरूको संख्या रास्वपाभित्र ठूलो रहेको बुझ्न सकिन्छ।

सम्बन्धित् समाचार