काठमाडौँ — कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएर प्रतिनिधिसभा निर्वाचनको समीक्षा गरिरहँदा पूर्वसभापति शेरबहादुर देउवा पक्षधर असन्तुष्ट बनेको छ । एकताको पहल नै नगरी ‘एकपक्षीय’ रूपमा केन्द्रीय कार्यसमिति बैठक राखेको भन्दै देउवा पक्ष असन्तुष्ट बनेको हो ।
२७–३० पुसमा भएको विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा पूर्वसभापति देउवा र नेता शेखर कोइराला पक्षको प्रतिनिधित्व छैन । त्यसैले शुक्रबार सुरु भएको कार्यसमिति बैठकलाई उनीहरूले ‘एकपक्षीय’ भनेका हुन् । कार्यसमिति बैठकमा प्रतिनिधिसभा निर्वाचनमा पराजय हुनुको दोष पुरानो कार्यसमितिको कार्यशैलीतर्फ औंल्याइएकामा पनि उनीहरूको आपत्ति छ ।
१ सय ६७ सदस्यीय केन्द्रीय कार्यसमितिमा सभापतिले करिब २० प्रतिशत अर्थात् ३३ केन्द्रीय सदस्य मनोनयन गर्न पाउँछन् । विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा १ सय ३४ केन्द्रीय कार्यसमिति चयन गरेको छ ।कार्यसमिति बैठकमा शुक्रबार उपसभापति विश्वप्रकाश शर्माले निर्वाचन समीक्षाको प्रस्ताव पेस गर्दै विशेष महाधिवेशन र त्यसबाट आएको केन्द्रीय कार्यसमितिको ५० दिनले नभएर त्यसअगाडिदेखि थुप्रिएको विसंगतिका कारण निर्वाचनमा पराजय भोग्नुपरेको निष्कर्ष सुनाएका थिए ।
२७ बुँदे निर्वाचन समीक्षामा निर्वाचनमा एउटा दलसँग गठबन्धन गरेर निर्वाचन पछाडि अर्को दलसँग सरकार बनाएको, कांग्रेस–एमाले गठबन्धन सरकारले गर्नुपर्ने काम नगरेको, नगर्नुपर्ने काम गरेको, निर्वाचन जितेर ठूलो पार्टी बने पनि सरकार र प्रमुख प्रतिपक्ष कुनै पनि हैसियतमा कांग्रेस नदेखिएको उल्लेख गरिएको छ । देउवा पक्षका नेताहरूले भने विशेष महाधिवेशन अगाडिको नेतृत्वलाई अपजस थुपारेर चोखिन खोजेको आरोप थापा नेतृत्वको कार्यसमितिलाई लगाएका छन् । यस्तो समीक्षाले पार्टीको आधिकारिकता विवादमा अदालतको फैसला आउनुअगाडि एकता हुने वातावरण नबनाउने उनीहरूको भनाइ छ ।








