काठमाडौँ — कांग्रेस सभापति गगन थापाले दिएको राजीनामा केन्द्रीय समितिले अस्वीकृत गरेको छ । थापाले गत बुधबार उपसभापति विश्वप्रकाश शर्मासमक्ष राजीनामा बुझाएका थिए ।
शर्माले शुक्रबार केन्द्रीय समिति बैठकमा प्रस्तुत गरेको थापाको राजीनामा आइतबार अस्वीकृत गरेको हो । केन्द्रीय समितिमा बोल्ने ८८ जना पदाधिकारी तथा सदस्यहरुमध्ये सबैले राजीनामा अस्वीकृत गर्नुपर्ने धारणा राखेका थिए ।
राजीनामा अस्वीकार गर्ने आधारहरू
• निर्वाचन पराजयका प्रमुख कारणहरू संरचनागत समस्या तथा नियन्त्रणबाहिरका परिस्थितिहरू रहेको
• वर्तमान जटिल राष्ट्रिय परिस्थितिमा सभापति थापाको नेतृत्व अझ आवश्यक रहेको अनुभूति भएको
•राजीनामा स्वीकार गर्दा पार्टीभित्र अनावश्यक अस्थिरता, अन्योल तथा कार्यकर्ताको मनोबलमा गिरावट आउने सम्भावना रहेकोले
•राजीनामा बाध्यकारी नभई नैतिक र स्वेच्छिक विषय भएकाले यसको सम्मान गर्दै अस्वीकार गर्नु उपयुक्त देखिएकोले
•सामूहिक जिम्मेवारीको सिद्धान्त तथा पार्टी नेतृत्वको स्थायित्वको आवश्यकताको सिद्दान्तमा आधारित रहेकोले
•विशेष महाअधिवेशन पश्च्यात प्रारम्भ गरिएको सुधार कार्यक्रम (कांग्रेस २.०) कार्यान्वयनको निरन्तरता आवश्यक रहेकोले
•पार्टीलाई आगामी १५औँ महाधिवेशनतर्फ केन्द्रित गर्नुपर्ने आवश्यकता भएकोले







