वैखरी अनलाईन, बाणगंगा ।
कपिलवस्तुमा सामाजिक सञ्जालमार्फत जातीय तथा धार्मिक द्वेष फैलाउने गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय तौलिहवाका अनुसार महाराजगंज नगरपालिका–२ बर्दवा क्षेत्रमा रहेको काली मन्दिरमा तोडफोड तथा क्षति पुगेको घटनालाई लिएर सामाजिक सञ्जालमा भ्रामक तथा उक्साहटपूर्ण सामग्री फैलाइएको थियो।
उक्त घटनापछि हिन्दु–मुस्लिम समुदायबीच विवाद बढाउन खोज्ने, समाजमा द्वेष फैलाउने तथा सामाजिक सद्भाव खल्बल्याउने उद्देश्यले सामग्री प्रसारण गरेको आरोपमा बुद्धभूमि नगरपालिका–६ बस्ने २१ वर्षीय मुस्ताक नाउ र कपिलवस्तु नगरपालिका–१ बस्ने २२ वर्षीय जितेन्द्र कहारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनीहरूलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता गरी जिल्ला अदालत कपिलवस्तुबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ।
प्रहरीले जिल्लामा शान्ति, धार्मिक सहिष्णुता र आपसी भाइचारा कायम राख्न सबैलाई आग्रह गर्दै सामाजिक सञ्जालमा भ्रामक, उत्तेजक तथा द्वेषपूर्ण सामग्री नफैलाउन सचेत गराएको छ।
यस्ता गतिविधिमा संलग्न पाइएमा प्रचलित कानुन अनुसार कडा कारबाही गरिने पनि प्रहरीले जनाएको छ।








