लुम्बिनी, वैखरी अनलाईन ।
लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. २ का वडाध्यक्ष ईनामुल्लाह फकीर एक्सनमा उत्रिएका छन् ।
वडाध्यक्ष ईनामुल्लाह फकीरको नेतृत्वमा मुजहना चौकदेखि केवटलिया जोड्ने मुख्य सडक खण्डमा रहेका अवरोधात्मक घरटहरा, अस्थायी टहरा तथा सडक पेटी अतिक्रमण गरी बनाइएका संरचनाहरु जेसिबि प्रयोग गरी हटाइएको हो।
विगत लामो समयदेखि उक्त सडक खण्डमा अनियन्त्रित रुपमा बनेका संरचनाका कारण सवारी आवागमनमा समस्या हुनुका साथै पैदल यात्रुहरुलाई समेत जोखिमपूर्ण अवस्था सिर्जना हुँदै आएको थियो। स्थानीयबासीले पटक–पटक सडक फराकिलो बनाउने माग गर्दै आएपछि वडा कार्यालयले आवश्यक समन्वय गरी अभियान सञ्चालन गरेको हो।
अतिक्रमण हटाउने कार्यअघि सम्बन्धित पक्षलाई जानकारी गराई स्वेच्छिक रुपमा संरचना हटाउन आग्रह गरिएको र त्यसपछि मात्र डोजर प्रयोग गरिएको वडाध्यक्ष ईनामुल्लाह फकीरले बताउनुभयो ।
अवरोध हटाइएपछि स्थानीयवासीलाई सहज, सुरक्षित र द्रुत आवागमनमा ठूलो सहयोग पुग्ने विश्वास गरिएको छ।
वडाध्यक्ष फकीरले विकास निर्माणका काममा कुनै पनि अवरोध सह्य नहुने बताउँदै आगामी दिनमा पनि यस्ता अतिक्रमण हटाउने अभियानलाई निरन्तरता दिइने उल्लेख गरेका छन्।
साथै, स्थानीयलाई सार्वजनिक सम्पत्तिको संरक्षण गर्न र विकास कार्यमा सहयोग गर्न आग्रह समेत गरेका छन्।








