वैखरी अनलाईन, बाणगंगा ।
कपिलवस्तुमा राष्ट्रिय आर्थिक गणना अभियान अन्तर्गत बाणगंगामा नगरपालिका स्तरीय अन्तरक्रिया गोष्ठी तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ।
नगरका प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीको अध्यक्षता तथा नगर प्रमुख चक्रपाणी अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै नगर प्रमुख चक्रपाणी अर्यालले राष्ट्रिय आर्थिक गणनालाई सफल बनाउन सबै व्यवसायिक प्रतिष्ठान र नगरवासीको सक्रिय सहयोग आवश्यक रहेको बताउँदै पालिकाले पूर्णरुपमा सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
उहाँले सही र यथार्थ तथ्याङ्कले मात्रै स्थानीय तहको योजना निर्माण तथा आर्थिक विकासलाई दिशा दिने बताउनुभयो । त्यसैले गणकहरूलाई आवश्यक विवरण उपलब्ध गराउन सबैले सहयोग गर्नुपर्ने उहाँको भनाई छ ।
कार्यक्रममा आर्थिक गणना कार्यालय कपिलवस्तुका अधिकारी मनोहर हरिजनले गणनाको उद्देश्य, प्रक्रिया तथा आवश्यक कागजातबारे जानकारी गराउनुभएको थियो। आगामी वैशाख २ गतेदेखि असार ७ गतेसम्म तथ्याङ्क संकलन कार्यक्रम सञ्चालन हुने जनाइएको छ।








