कपिलवस्तु — अवैध लागूऔषध चरेससँगै तीन दिदीबहिनी र एक पुरुष गरी ४ जना पक्राउ परेका छन् ।
सीमावर्ती बजार कृष्णनगर बसपार्कबाट बागलुङको निसीखोला गाउँपालिका–६, बस्ने ३७ वषीर्या मनीषा घर्तीमगर, ३७ वर्षकी दिलकुमारी घर्तीमगर र रुकुमपूर्व भूमे गाउँपालिका १ बस्ने ४० वर्षकी दिलकुमारी घर्तीमगरसँगबाट १४ केजी ४२७ ग्राम अवैध लागूऔषध चरेस बरामद गरिएको हो ।
तीनै जना महिलाले झोला र पटुकीमा बाँधेर अवैध लागूऔषध चरेस लुकाइछिपाइ लैजाँदै गरेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी रिपेन्द्रकुमार सिंहले बताए । यी तीनै जना एउटै आमाबुवाका छोरी हुन् । उनीहरूसँगै रहेका बागलुङको निसीखोला गाउँपालिका–६ बस्ने ३४ वर्षीय नकुल घर्तीमगर पनि पक्राउ परेका छन् । उनको साथबाट बरामद नभए पनि उनीहरूसँगै हुँदा पक्राउ गरिएको हो ।
मंगलबार साँझ ७ बजेतिर कृष्णनगर बसपार्क नजिकैबाट हिँड्दै भारततिर जाने क्रममा उनीहरू पक्राउ परेका हुन् । उनीहरू सीमाको दुई सय मिटरयतै पक्राउ परेका थिए । अत्यधिक गर्मीका कारण चरेसको गन्ध आएकाले प्रहरीले शंका लागि चेकजाँच गर्दा चरेस बरामद भएको हो । प्रहरीले बुधबार अदालतबाट ७ दिनको म्याद थपेर उनीहरूमाथि अनुसन्धान भइरहेको जनाएको छ ।







