फाइल तस्वीर
काठमाण्डाै – बितेको एक हप्ताभन्दा लामो समयदेखि भइरहेको वर्षाका कारण वनडढेलो रोक्नुको साथै वायु प्रदूषण र गर्मी पनि घटाएको छ ।
वन तथा भूसंरक्षण विभागका अनुसार वैशाखको मध्यदेखि तेस्रो हप्तासम्मलाई डढेलो उत्कर्षमा पुग्ने समय मानिन्छ । तर लगातारको वर्षाले अहिले सिन्धुपाल्चोकको एक ठाउँमा सामान्य बाहेक अन्यत्र डढेलो देखिएको छैन ।
यस्तै यो समय डढेलोसँगै वायु प्रदूषण उच्च हुने समय हो । तर अहिले देशका सबैजसो ठाउँमा हावाको गुणस्तर स्वस्थ अवस्थामा छ । सधैँजसो वायु गुणस्तर मापन सूचक एक्यूआई ५० भन्दा धेरै रहने काठमाण्डौ उपत्यकामा पनि आज एक्यूआई ५० भन्दा तल झरेर मापन केन्द्रहरूले हरियो सङ्केत गरेका छन् । हरियो सङ्केतको अर्थ सबै समूहका मानिसका लागि हावा स्वस्थ रहेको मानिन्छ ।
यस्तै यो गर्मी उच्च हुने समय हो । यस बेला तराई मधेशमा सामान्यतया ४० डिग्री सेल्सियसभन्दा धेरै तापक्रम हुन्छ । तर आज बढीमा ३३–३४ डिग्री सेल्सियसभन्दा माथि गएको छैन । यसैले देशभर शीतल अनुभव भएको छ ।
अहिले गण्डकी र लुम्बिनीका धेरै र कर्णालीका केही ठाउँमा पानी परिरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति कोशीको केही ठाउँ, मधेश तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भागका थोरै ठाउँमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा तथा बाँकी प्रदेशका हिमाली भागका एक/दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
यसैबीच यस वर्षको मनसुन अवधिमा भने नेपालमा औसतभन्दा कम वर्षा हुने र तापक्रम बढी हुने अनुमान छ । दक्षिण एशियाली जलवायु दृष्टिकोण मञ्च (सास्कोफ) ले सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपालको ठूलो भू–भाग पर्ने मध्य क्षेत्रमा यस वर्ष कम वर्षा हुने छ । यसका मुख्य कारण प्रशान्त महासागरमा विकसित एल निनो र हिन्द महासागरको इन्डियन ओसन डाइपोलमा आएको प्रतिकूल परिवर्तन रहेका छन् ।
मौसमविद् डा. विनोद पोखरेलका अनुसार जुन र जुलाई महिना सुक्खा हुने सम्भावना छ । यसले कृषि उत्पादन र जलविद्युत् आपूर्तिमा समेत प्रतिकूल असर पर्न सक्ने मौसमविद्को चिन्ता छ । विज्ञहरूले कम वर्षामा हुने वैकल्पिक बाली छनोट गर्न र पानीको भण्डारण गर्न सुझाव दिएका छन् । जल तथा मौसम विज्ञान विभागले भने आउँदो मनसुनको अनुमान सार्वजनिक गरिसकेको छैन ।







