वैखरी अनलाईन, बाणगंगा ।
कपिलवस्तुको बाणगंगा नगरपालिका–२ स्थित बैजलपुर जनकल्याण सामुदायिक वन उपभोक्ता समितिले युवतीहरुलाई आत्मनिर्भर र स्वरोजगारमुखी बनाउने उद्देश्यसहित बुके बनाउने तालिम सञ्चालन गरेको छ । सामुदायिक वनले वन संरक्षणसँगै सामाजिक तथा आर्थिक सशक्तीकरणलाई समेत प्राथमिकतामा राख्दै युवतीहरुलाई लक्षित गरी ३ दिने तालिम आयोजना गरेको हो ।

वनका अध्यक्ष सत्यनारायण थारुका अनुसार वनका उपभोक्ता रहेका ३५ घरधुरीका ३५ जना युवतीहरुलाई तालिममा सहभागी गराइएको थियो । युवतीहरुलाई सीपसँग जोडेर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको बताउनुभयो । उहाँले अहिलेको समयमा सीपमूलक ज्ञानले रोजगारी तथा स्वरोजगारको अवसर सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो ।
अध्यक्ष थारुले सामुदायिक वनले वन संरक्षण र हरियाली प्रवर्द्धनसँगै समाजका युवती तथा महिलाहरुलाई आयआर्जनसँग जोड्ने कार्यक्रमलाई निरन्तरता दिँदै आएको बताउनुभयो ।
तालिमको समापन कार्यक्रममा बोल्दै वडा नं. २ का वडाध्यक्ष विष्णु प्रसाद पौडेलले युवतीहरुलाई लक्षित गरी सञ्चालन गरिएको सीपमूलक तालिम अत्यन्त सकारात्मक र उदाहरणीय पहल भएको बताउनुभयो । उहाँले सीपले व्यक्तिलाई आत्मनिर्भर मात्र नभई आत्मविश्वासी समेत बनाउने उल्लेख गर्दै तालिममा सिकेका कुरालाई व्यवहारमा उतारेर आयआर्जनतर्फ अघि बढ्न सहभागीहरुलाई आग्रह गर्नुभयो ।
वडाध्यक्ष पौडेलले सामुदायिक वनहरूले पछिल्लो समय वन संरक्षणमा मात्र सीमित नरही सामाजिक रूपान्तरण, महिला सशक्तीकरण, सीप विकास तथा रोजगारी सिर्जनामा समेत महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताउनुभयो । स्थानीय सरकारले यस्ता रचनात्मक तथा उत्पादनमूलक कार्यक्रमलाई आवश्यक सहकार्य र प्रोत्साहन गर्ने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभयो ।
तालिममा विवाह, व्रतबन्ध, जन्मदिन, स्वागत कार्यक्रम, सभा–समारोह तथा विभिन्न औपचारिक कार्यक्रमहरूमा प्रयोग हुने आकर्षक बुके निर्माण गर्ने तरिका सिकाइएको थियो ।
प्रशिक्षकहरूले कृत्रिम तथा प्राकृतिक फूलको प्रयोग, रङ संयोजन, डिजाइन मिलाउने तरिका, बुके प्याकिङ तथा सजावटबारे व्यावहारिक प्रशिक्षण दिएका थिए । सहभागी युवतीहरुले आफैंले बुके तयार गरेर अभ्यास समेत गरेका थिए ।
तालिममा सहभागी युवतीहरुले तालिमबाट व्यावहारिक तथा उपयोगी ज्ञान प्राप्त भएको प्रतिक्रिया दिएका छन् ।
उनीहरुले घरमै बसेर पनि बुके निर्माण गरी सानो व्यवसाय सञ्चालन गर्न सकिने विश्वास व्यक्त गर्दै भविष्यमा यसलाई व्यवसायका रूपमा अघि बढाउने योजना रहेको बताएका छन् ।
केही सहभागीहरुले सामाजिक सञ्जालमार्फत बुके बिक्री तथा अर्डर व्यवस्थापन गर्ने सोचसमेत बनाएको बताएका छन् ।






