वैखरी अनलाईन, बाणगंगा ।
कपिलवस्तुको चाकरचौडा सीमा क्षेत्रमा पछिल्लो समय किसानहरूले खेतीका लागि ल्याउँदै गरेको धानको बिउ सुरक्षाकर्मीले पक्राउ गरी भन्सार पठाउने घटना बढ्दै गएको भन्दै किसानहरू आक्रोशित बनेका छन् ।
सोही सन्दर्भमा मायादेवी गाउँपालिकाका अध्यक्ष वलिउद्दीन मुसलमानले सामाजिक सञ्जालमार्फत किसानको समस्याप्रति ध्यानाकर्षण गराउँदै नेपालमै पर्याप्त मात्रामा धानको बिउ उपलब्ध नभएको र पाइए पनि अत्यधिक महँगो भएका कारण किसानहरू बाध्य भएर सीमापारिबाट बिउ ल्याउनुपर्ने अवस्था रहेको बताएका छन् ।
खेतीपातीको मुख्य समयमा किसानलाई सहज वातावरण दिनुपर्ने बेला उल्टै दुःख दिने कार्यले किसान थप मारमा परेको उनको भनाइ छ ।
एकातिर मल र बिउको अभाव तथा अर्कोतर्फ सुरक्षाकर्मीको कडाइका कारण किसान चिन्तित बनेको उल्लेख गर्दै उनले किसानको पीडा बुझेर व्यवहारिक समाधान खोज्नुपर्ने आवश्यकता औंल्याएका छन् ।







