वैखरी अनलाईन, बाणगंगा ।
नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेशसभा सदस्य विष्णु पन्थीले पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागिएको भन्ने चर्चापछि सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन् ।
एमाले सचिवालय बैठकमा अध्यक्ष ओलीलाई राजीनामा दिन र नेतृत्वका लागि मार्ग खाली गर्न दबाब परेको समाचार सार्वजनिक भइरहेका बेला पन्थीले विगतको निर्णयप्रति संकेत गर्दै कटाक्षपूर्ण प्रतिक्रिया दिएका हुन् ।
पन्थीले फेसबुकमा लेख्दै, “खारेज भएको बिधा भण्डारीको सदस्यता पनि अहिले नवीकरण भयो भन्ने सुनिन्छ । यो कुरा विधान महाधिवेशनमा ७० वर्ष र दुई कार्यकाल हटाउने बेलामा र नवीकरण भएको सदस्यता खारेज गर्ने बेलामा बोल्न सकेको भए अहिलेको अवस्थामा के–के देख्नु पर्दैन थियो होला ?” भन्दै पार्टीभित्रका पुराना निर्णय र वर्तमान परिस्थितिबीच सम्बन्ध जोड्ने प्रयास गरेका छन् ।








