वैखरी अनलाईन, बाणगंगा ।
बाणगंगा नगरपालिका–२ स्थित मुना सामुदायिक वन उपभोक्ता समितिले उपभोक्ताहरूलाई २ दिने मौसमी तथा बेमौसमी कृषि प्रविधि तालिम दिएको छ ।
तालिममा कृषि सम्बन्धी आधुनिक प्रविधि, मौसमी तथा बेमौसमी तरकारी खेती, उत्पादन वृद्धि तथा कृषिलाई व्यवसायिक बनाउने विषयमा सहजीकरण गरिएको थियो।
तालिमका प्रशिक्षक हिरा अर्यालले सहभागीहरूलाई व्यावहारिक तथा उपयोगी कृषि ज्ञान प्रदान गर्नुभएको थियो।

कार्यक्रमका प्रमुख अतिथि बाणगंगा नगरपालिका वडा नं. २ का वडा अध्यक्ष बिष्णु प्रसाद पौडेलले कृषिको आधुनिकीकरण र व्यवसायीकरणका लागि यस्ता तालिमहरू महत्वपूर्ण हुने बताउनुभयो। उहाँले सिकेका सीप तथा ज्ञानलाई व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह गर्नुभयो।
त्यसैगरी कार्यक्रममा विशिष्ट अतिथि दिनेश प्रसाद जयसवालले कृषि क्षेत्रको विकास र आयआर्जन वृद्धि गर्न तालिमले सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
दुई दिनसम्म सञ्चालन भएको उक्त तालिममा ३८ जना सहभागी रहेका थिए। सहभागीहरूले तालिमबाट प्राप्त ज्ञानले कृषि उत्पादन वृद्धि तथा आम्दानी बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।
मुना सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कुशल बहादुर थापाले आगामी दिनमा पनि उपभोक्ताहरूको क्षमता अभिवृद्धिका लागि यस्ता सीपमूलक कार्यक्रमहरू सञ्चालन गर्ने जनाउनु भएको छ।







