बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू यसै वर्ष स्वदेश फर्कने घोषणा गरेकी छन्।
मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दामा अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाएकी उनले स्वदेश फर्किने बताएकी हुन्।
अठहत्तर वर्षीया हसिना विद्यार्थी नेतृत्वको आन्दोलनका कारण सन् २०२४ को अगस्टमा १५ वर्षदेखिको लामो शासन छाड्दै छिमेकी मुलुक भारतमा आश्रय लिइरहेकी छन्।
त्यसयता उनी सार्वजनिक रूपमा निकै कम देखिएकी छन्।
गत जनवरीमा भने उनले नयाँदिल्लीस्थित प्रेस क्लबबाट भिडिओमार्फत सम्बोधन गरेकी थिइन्।
भारतीय टेलिभिजन एनडीटीभीसँगको अन्तर्वार्तामा हसिनाले आफ्नोविरुद्धको फैसला ‘गैरकानुनी, असंवैधानिक र राजनीतिक उद्देश्यले प्रेरित’ भएको दाबी गरिन्।
उनले आफू मृत्युदण्डको सजायबाट नडराउने पनि बताइन्।
‘मेराविरुद्ध धेरै षड्यन्त्र गरिए। तर ती सबैलाई पार गर्दै म जनताको मतबाट पाँचपटक प्रधानमन्त्री निर्वाचित भएँ र देशको विकासका लागि काम गरेँ’, उनले भनिन्।
स्वदेश फर्किनेबारे सोध्दा हसिनाले भनिन्, ‘सबै बाधा र षड्यन्त्रलाई पार गर्दै म यसै वर्ष आफ्नो देश फर्कनेछु।’
गत नोभेम्बरमा ढाकाको एक अदालतले आन्दोलनका क्रममा हिंसा भड्काएको, हत्या गर्न आदेश दिएको तथा अत्याचार रोक्न असफल भएको ठहर गर्दै हसिनालाई अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाएको छ।
यसैबिच हसिनाको नेतृत्वमा रहेको पूर्वसत्तारुढ अवामी लिगको गतिविधिलाई पनि बङ्गलादेशमा गैरकानुनी घोषणा गरिएको छ।
उता गत फेब्रुअरीमा बङ्गलादेशमा भएको निर्वाचनपछि प्रधानमन्त्री तारिक रहमानको नेतृत्वमा नयाँ सरकार गठन भएसँगै भारत–बङ्गलादेश सम्बन्धमा केही सुधार आएको बताइए पनि हसिनाको सुपुर्दगीको विषयमा दुवै देशबीच मतभेद कायमै छ।
बङ्गलादेशले भारतसँग हसिनाको सुपुर्दगीको माग दोहोर्याउँदै आएको छ।








