गृहपृष्ठ Featured यसवर्ष देशभर ४६ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न

यसवर्ष देशभर ४६ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न

काठमाण्डौ — यसवर्ष धान रोपाइँको गति गएको वर्षको तुलनामा सुस्त देखिएको छ । गएको शुक्रबार असार २६ गतेसम्म देशभर कुल धान रोपाइँ ४५ दशमलव ८१ प्रतिशत मात्रै सकिएको छ ।

कृषि विभागले सार्वजनिक गरेको विवरणअनुसार गएको वर्ष यही अबधीमा देशभर ५९.२८ प्रतिशत रोपाइँ भएको थियो । गएको वर्षको तुलनामा यसवर्ष झण्डै साढे १३ प्रतिशतले रोपाइँ कम भएको विभागको तथ्यांकले देखाएको छ ।

कृषि विभागका अनुसार नेपालमा कुल १३ लाख ७० हजार ६२ हेक्टर क्षेत्रफलमा धान खेती हुने गर्दछ । जसमध्ये ६ लाख २७ हजार ५६६ हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ सकिएको छ ।

प्रदेशगत रूपमा हेर्दा यसवर्ष सबैभन्दा बढी रोपाइँ गण्डकी प्रदेशमा भएको देखिएको छ भने सबैभन्दा कम कोशी प्रदेशमा भएको कृषि विभागको प्रतिवेदनमा उल्लेख छ । गण्डकी प्रदेशमा ६५.९ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको छ ।

धानको मुख्य भण्डार मानिने मधेस र कोशी प्रदेशमा भने यसपालि रोपाइँको गति निकै ढिलो देखिएको छ कोशी प्रदेशमा ३१.५ प्रतिशत क्षेत्रफलमा मात्र रोपाइँ सकिएको छ । कोशीमा २ लाख ७६ हजार ३८७ हेक्टर खेतीयोग्य जमिनमध्ये ८७ हजार ३३ हेक्टरमा मात्र रोपाइँ भएको विभागले जनाएको छ ।

सम्बन्धित् समाचार