अमेरिकाले इरानमा आक्रमण जारी राखेको छ। अमेरिकी सेनाले शुक्रबार राति पनि इरानका विभिन्न प्रान्तमा हवाई हमला गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
इरानका विभिन्न प्रान्तमा जारी अमेरिकाको आक्रमणका कारण अहिलेसम्म कम्तीमा ३८ जनाको मृत्यु भएको र ४०० भन्दा बढी घाइते भएको इरानको स्वास्थ्य मन्त्रालयले जनाएको छ। पुल, ऊर्जा सुविधा र समुद्री नियन्त्रण टावरसहित नागरिक पूर्वाधारमा पनि हमला गरिएको जनाइएको छ।
इरानको प्रेस टीभीका अनुसार होर्मोजगन, बुसेहर, सिस्तान र बलूचिस्तान, खुजेस्तान र लोरेस्तान प्रान्तमा आक्रमण गरिएको हो।
आक्रमणमा चाबहारको साहिद कलन्तरी बन्दरगाहमा रहेको सामुद्रिक नियन्त्रण टावर ध्वस्त भएको छ। यद्यपि प्रेस टीभीको रिपोर्टअनुसार बन्दरगाहको कार्गो सुविधा र अन्य पूर्वाधारमा कुनै हताहत भएको छैन।
यूएस सेन्ट्रल कमान्ड (सेन्टकम) ले शुक्रबार चाबहारको इरानको शाहिद कलान्तरी बन्दरगाहमा रहेको निगरानी टावरलाई ‘सफलतापूर्वक नष्ट’ गरिएको पुष्टि गरेको छ।
जुन इरानको इस्लामिक रिभोलुसनरी गार्ड (आईआरजीसी) द्वारा ओमानको खाडीमा, होर्मुजको जलमार्ग हुँदै व्यापारिक ढुवानीको निगरानी गर्न प्रयोग गरिएको समुद्री निगरानी नेटवर्कको केन्द्र भएको बताइएको छ।
इरानी समाचार एजेन्सी इरनाले प्राविधिक र परिचालन टोलीहरूले क्षतिको आकलन गर्न, प्रभावित क्षेत्र सुरक्षित गर्न र बन्दरगाह गतिविधि पुनः सुरु गर्ने कदमको समीक्षा गर्न थालेको बताएको छ।
सुरक्षा जाँच पूरा भएपछि कार्गो सञ्चालन पुनः सुरु हुने अपेक्षा गरिएको छ।
यसैबिच होर्मोजगन प्रान्तका अधिकारीहरूले खमीर काउन्टीका छ वटा पुलसहित धेरै स्थानमा आक्रमण भएपछि ठुलो क्षति भएको रिपोर्ट गरेका छन्।
होर्मोजगन गभर्नरको कार्यालयले आक्रमणमा सात जनाको मृत्यु भएको र नौ जना घाइते भएको बताएको छ।
अधिकारीहरूले आक्रमणले बन्दर अब्बास, बन्दर खमीर र लारलाई जोड्ने यातायात मार्गलाई असर गरेको बताएका छन् भने आपत्कालीन टोली वैकल्पिक मार्गमार्फत आवागमन सञ्चालन गर्न गर्न सक्रिय रहेको बताइएको छ।








