काठमाण्डौ — अस्ति बुधबारदेखि ठूलो पानी पर्ने क्रम घट्न थालेको छ । मंगलबारसम्म देशका धेरै ठाउँमा लगातारजसो झरी र ठूलो पानी परेकोमा बुधबारदेखि भने केही ठाउँमा केहीबेर मात्रै पानी पर्ने गरेको छ ।
गएराति पनि केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । मकवानपुर र लमजुङमा मध्यम तथा अरु ठाउँमा हल्का मात्रै पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका थोरै ठाउँ तथा कोशी, मधेश र सुदूरपश्चिम प्रदेशका तराईका एक/दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
यस्तै लुम्बिनी प्रदेशका पहाडी भेग तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भेगका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।








