गृहपृष्ठ खबर नेपाली राष्ट्रिय क्रिकेट टोलीको लगातार दोस्रो हार

नेपाली राष्ट्रिय क्रिकेट टोलीको लगातार दोस्रो हार

आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले लगातार दोस्रो हार व्यहोरेको छ।

बिहीबार राति सकिएको खेलमा नेपाल नेदरल्यान्ड्सँग ६ विकेटले पराजित भएको हो।

लिग चरणको तेस्रो खेलमा नेपालले सोमबार पुनः नामिबियासँग खेल्नेछ। बुधबार पुनः नेदरल्यान्डसँग खेल्नेछ।

सिरिजको पहिलो खेलमा नेपाल नामिबियासँग ८ विकेटले पराजित भएको थियो। लगातार दोस्रो हारसँगै नेपालको शीर्ष चारमा रहेर सोझै विश्वकप खेल्ने योजनामा धक्का पुगेको छ।

नेपालले दिएको १ सय ५८ रनको लक्ष्य नेदरल्यान्ड्सले ४४.१ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो।

नेदरल्यान्ड्सका लागि कप्तान स्कट एडवर्ड्सले सर्वाधिक ६१ रनको योगदान दिए। एडवर्ड्सले ८९ बलमा २ चौका र १ छक्का हाने। नोआ क्रोसले ३४ रन थपे।

ओपनर सेड्रिक डी ल्यान्ज र ज्याक लायन–क्यासेटले समान २१ रन थपे।

नेपालका लागि सोमपाल कामी, दिपेन्द्रसिंह ऐरि र ललित राजवंशीले समान एक विकेट लिए।

त्यसअघि नेदरल्यान्ड्सको उट्रेक्टस्थित स्पोर्टपार्क मार्सचाल्करवेर्डमा घरेलु टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाली टोली ४४.४ ओभरमा १ सय ५७ रन बनाउँदा अलआउट भयो।

नेपालका लागि आरिफ शेखले बनाएको ४१ रन नै सर्वाधिक रह्यो। उनले ९० बलमा ४ चौका प्रहार गरे।

गुल्सन झाले २९, दिपेन्द्रसिंह ऐरिले २१ र आशिफ शेखले १४ रन थपे। करण केसी १३ रनमा नटआउट रहे। सोमपाल कामी १० रन बनाउँदा एलबीडब्लु धरापमा परे।

नेपाललाई कम स्कोरमा रोक्न एलेक्स रोय र रोलोफ भान डेर मर्वेले समान ३ विकेट लिए। लोगान भान विकले २ तथा काइल केलिनले १ विकेट लिए।

सम्बन्धित् समाचार