फ्रान्स र स्पेनमा डढेलोका कारण दुई लाख ८० हजार जनाभन्दा धेरै मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ ।
डढेलो फैलँदै गएपछि दुई वटा देशमा विस्थापित हुनेको संख्या बिहानको तुलनामा ६० हजारले बढेको हो । दक्षिण–पश्चिम फ्रान्सको जिरोन्ड र ल्यान्ड्स क्षेत्रहरूमा मात्रै झण्डै दुई लाख मानिसहरूलाई सुरक्षित ठाउँमा लगिएको छ ।
स्पेनको राजधानी मड्रिडनजिकै तीन वटा डढेलो एउटैमा मिसिएपछि अग्निनियन्त्रकहरूले आगो नियन्त्रणको क्षमता बाहिर पुगेको बताएका बीबीसीले जनाएको छ । स्पेन सरकारले राष्ट्रिय आपत्काल घोषणा गरेको छ ।
दक्षिण–पश्चिम फ्रान्समा आज बिहानै बोर्डोनजिकैका चार सहरहरूलाई खाली गरिसकेको बीबीसीले जनाएको छ । युरोपेली सङ्घ ईयूले स्पेन र फ्रान्समा अग्नि नियन्त्रकहरूको प्रयासहरूलाई सघाउन विमान र हेलिकप्टरहरू खटाएको गरेको छ ।
दक्षिणी युरोपको धेरैजसो भाग लगातारको गर्मीको लहर र लामो खडेरीसँग जुधिरहेका बेला ईयूले हलिकोप्टर खटाएको हो । युरोप सबैभन्दा छिटो तापक्रम बढिरहेको महादेश हो जहाँ सन् १९८० को दशकदेखि विश्वव्यापी औसतभन्दा दोब्बरभन्दा बढीले तापक्रम बढिरहेको छ ।
तातो, सुक्खा अवस्थाले वनस्पतिमा कम आर्द्रता छोडिरहेको हुनाले जङ्गलमा आगो लाग्न र छिटो फैलिने अवस्था सिर्जना गर्छ । युरोपेली वन अग्नि सूचना प्रणालीका अनुसार बितेको दुई दशकको वार्षिक औसतभन्दा यस वर्ष युरोपमा डढेलोले धेरै क्षेत्र जलाएको छ ।








