गएको फेब्रुअरी २८ देखि शुरू भएको इरानसँगको युद्धका क्रममा अहिलेसम्म १८ अमेरिकी सैनिकको ज्यान गएको विवरण सार्वजनिक भएको छ ।
यस्तै आफ्ना ६२४ जना सैनिक घाइते भएका अमेरिकी रक्षा मन्त्रालय पेन्टागनलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
‘डिफेन्स क्याजुअल्टी एनालाइसिस सिस्टम’का अनुसार जुलाई २५ सम्म इरानविरुद्ध सञ्चालन भएको सैन्य अभियान ‘एपिक फ्युरी’का क्रममा १४ सैनिकको ज्यान गएको र ४१७ जना घाइते भएका हुन् ।
यसैगरी गएको जुलाई महिनामा इरानविरुद्ध पुनः शुरू भएको ‘ओभरसिज अपरेसन्स’ सैन्य अभियानमा आफ्ना ४ सैनिकको ज्यान गएको र २०७ जना घाइते भएका अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ ।
पेन्टागनले तथ्याङ्क प्रणालीमा थपेको नयाँ श्रेणी ‘ओभरसिज अपरेसन्स’ मा ज्यान गुमाएका सैनिकको नाम मात्र समावेश रहेको खबरमा उल्लेख छ । यसमा सैनिकको मृत्यु वा घाइते भएको समय, ठाउँ र कारणबारे विस्तृत विवरण छैन ।
इरानसँगको द्वन्द्वको नयाँ चरणमा ४ जना सैनिकको ज्यान गएको पुष्टि भए पनि घाइते भएका सबै सैनिक इरानसँगको द्वन्द्वसँग सम्बन्धित छन् वा छैनन् भन्नेबारे पेन्टागनले स्पष्ट पारेको छैन ।
अमेरिकी कानूनअनुसार कंग्रेसको अनुमतिविना राष्ट्रपतिले सामान्यतया अमेरिकी सेनालाई ६० दिनभन्दा धेरै समयसम्म शत्रुतापूर्ण कारबाहीमा सङ्लग्न गराउन पाउँदैनन्।
सञ्चारमाध्यमका अनुसार ट्रम्प प्रशासनले जुलाई १० मा कंग्रेसलाई पठाएको पत्रमा जुलाई ७ मा ‘स्टे«ट अफ हर्मुज’हुँदै गइरहेका ३ वटा व्यापारिक पानीजहाजमाथि इरानले गरेको आक्रमणले यसअघिको युद्धविराम सम्झौताको उल्लङ्घन गरेको जनाएको थियो ।
यसै आधारमा ह्वाइट हाउसले जुलाई ७ लाई इरानसँगको शत्रुतापूर्ण कारबाहीको नयाँ चरण शुरू भएको मितिका रूपमा परिभाषित गरेको खबरमा उल्लेख छ ।








