गृहपृष्ठ अन्तरास्ट्रिय खबर जिम्बावेमा भेटिएको डाइनोसरको अवशेष झन्डै २१ करोड वर्ष पुरानो : अध्ययन

जिम्बावेमा भेटिएको डाइनोसरको अवशेष झन्डै २१ करोड वर्ष पुरानो : अध्ययन

अफ्रिकी देश जिम्बावेमा ८ वर्षअघि फेला परेको डाइनोसरको अवशेष नयाँ प्रजातिको भएको पुष्टि भएको छ । बेलायत, जिम्बावे र दक्षिण अफ्रिकाका वैज्ञानिकहरूको संयुक्त टोलीले सन् २०१८ मा उत्खनन गर्दा डाइनोसरको मेरुदण्ड, करङ, हातखुट्टा र पञ्जाको हड्डीका अवशेषहरू भेट्टाएका थिए ।

जीवविज्ञानसम्बन्धी अनुसन्धानकर्ताहरूको एउटा अन्तर्राष्ट्रिय टोलीले त्यो अवशेष यसअघि पहिचान भएकाभन्दा नयाँ प्रजातिको डाइनोसरको भएको जनाएको छ ।

‘जर्नल अफ सिस्टिम्याटिक प्यालियोन्टोलोजी’ मा प्रकाशित अध्ययन प्रतिवेदनअनुसार झन्डै २१ करोड वर्ष पुरानो यो डाइनोसर साढे ४ मिटर अर्थात् १५ फिट लामो रहेको अनुमान छ ।

यो डाइनोसर दुई खुट्टामा हिँड्ने प्रारम्भिक सरोपोडोमोर्फ प्रजातिको रहेको र पछि विकास भएका लामा घाँटी भएका विशाल डाइनोसरहरूको पूर्वज मानिएको छ ।

अनुसन्धान टोलीका प्रमुख डाक्टर पल ब्यारेटका अनुसार यो डाइनोसर पूर्णरूपमा हुर्केपछि मरेको र जीवनको कुनै समयमा ठूलो चोट वा सङ्क्रमणबाट बचेको सङ्केत अवशेषहरूमा देखिएको छ । अनुसन्धानकर्ताहरूले यस नयाँ प्रजातिको नाम मुसाङ्गो माटुसाडोनाएसिस राखेका छन् ।

यसअघि दक्षिणी अफ्रिकाभरि एउटै खालका डाइनोसरहरू मात्र पाइन्थे भन्ने मान्यता रहेकामा यो नयाँ खोजले त्यस बेला पनि फरक–फरक पारिस्थितिक प्रणाली र विविध प्रजातिहरू अस्तित्वमा रहेको पुष्टि गरेको छ ।

वैज्ञानिकहरूले अफ्रिकाको प्रागैतिहासिक इतिहासबारे अझै धेरै रहस्यहरू खुल्न बाँकी रहेको बताएका छन् ।

सम्बन्धित् समाचार