काठमाडौं । साहित्यकार खगेन्द्र संग्रौलाले नेपाली समाजमा चुनावका बेला भावनात्मक लहर र व्यक्तिकेन्द्रित राजनीति हाबी हुने प्रवृत्तिले विवेकपूर्ण मतदान संस्कृतिलाई कमजोर बनाएको टिप्पणी गरेका छन्।
‘समाज र राजनीतिबीचको अन्तरसम्बन्ध’ विषयक कार्यक्रममा शनिबार बोल्दै संग्रौलाले पछिल्लो संसदीय निर्वाचनको अनुभव सुनाउँदै धेरै मतदाताले उम्मेदवारभन्दा चुनाव चिह्न र लोकप्रिय व्यक्तित्वको प्रभावका आधारमा मतदान गरेको दाबी गरे। उनका अनुसार यसले नेपाली समाजमा आलोचनात्मक चेतनाभन्दा भावनात्मक निर्णयले बढी प्रभाव पार्ने प्रवृत्ति देखाएको छ।
उनले इतिहासका विभिन्न राजनीतिक परिवर्तनलाई स्मरण गर्दै पहिलो संविधानसभा निर्वाचनमा माओवादीप्रति देखिएको व्यापक जनलहर र त्यसपछि छोटो अवधिमै आएको मतपरिवर्तनलाई पनि सामूहिक मनोविज्ञानको उदाहरणका रूपमा प्रस्तुत गरे।
संग्रौलाका अनुसार लोकतान्त्रिक समाजमा मतदाताले उम्मेदवारको क्षमता, विचार, कार्यसम्पादन र नीतिका आधारमा निर्णय गर्नुपर्ने भए पनि नेपालमा व्यक्तिपूजा, लोकप्रियता र क्षणिक राजनीतिक लहरले मतदाताको निर्णयलाई प्रभावित गर्ने गरेको देखिन्छ।
राजनीतिक नेतृत्वबारे धारणा राख्दै उनले प्रभावशाली नेतामा स्पष्ट दृष्टिकोण, सशक्त वक्तृत्वकला र जनतालाई आकर्षित गर्ने क्षमता हुने बताए। उनले नेपालका सन्दर्भमा मदन भण्डारीलाई करिष्मात्मक नेतृत्वको उदाहरणका रूपमा उल्लेख गर्दै प्रभावकारी प्रस्तुति र वैचारिक स्पष्टताले जनसमर्थन निर्माण हुने बताए।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबारे टिप्पणी गर्दै संग्रौलाले उनी छोटो अवधिमै ठूलो जनसमर्थन जुटाउन सफल भएको उल्लेख गरे। यद्यपि, कानुनी विवादका कारण उनले अपेक्षाअनुसार नेतृत्वको भूमिका निर्वाह गर्न नसकेको दाबी गर्दै त्यसपछि काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहप्रति जनअपेक्षा बढेको विश्लेषण गरे।
संग्रौलाले नेपाली समाजमा तर्क, तथ्य र विवेकका आधारमा राजनीतिक निर्णय गर्ने संस्कृतिको विकास आवश्यक रहेको उल्लेख गर्दै मतदाताले भावनात्मक प्रभावभन्दा नीति, कार्यक्रम र उम्मेदवारको क्षमता मूल्याङ्कन गरेर मतदान गर्ने अभ्यास बलियो बनाउनुपर्ने धारणा व्यक्त गरे। उनका अनुसार यस्तो राजनीतिक संस्कृतिको विकास नभएसम्म लोकतान्त्रिक अभ्यास थप परिपक्व हुन कठिन हुनेछ।







