काठमाण्डाै – अफगानिस्तान सन् २०२७ को एकदिवसीय विश्वकपमा छनोट भएको छ । गएराति बेलफास्टमा भएको तेस्रो एकदिवसीय क्रिकेटमा घरेलु टोली आयरल्यान्डलाई ३ विकेटले हराउँदै अफगानिस्तान विश्वकपमा छनोट भएको हो ।
आयरल्यान्डले दिएको २०७ रनको लक्ष्य अफगानिस्तानले ४४ ओभर ५ बलमा ७ विकेट गुमाएर भेटायो । अफगानिस्तानका रहमनुल्लाह गुरबाजले ७१, कप्तान राशिद खानले नटआउट ३७ रन बनाए । आयरल्यान्डका गभिन होएले ४ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको आयरल्यान्डले ४६ ओभर ३ बलमा २०६ रन बनाउँदा सबै विकेट गुमायो । आयरल्यान्डका गभिन होएले सबैभन्दा धेरै ३६ रन बनाए । अफगानिस्तानका राशिद खान र एएम गजानफरले ३/३ विकेट लिए ।
योसँगै ५ खेलको एकदिवसीय शृङ्खलामा अफगानिस्तानले २–० को अग्रता लिएको छ । पहिलो खेल वर्षाका कारण रद्द भएको थियो भने दोस्रो खेल अफगानिस्तानले ९२ रनले जितेको थियो ।
यसैबीच २ पटकको विजेता वेस्ट इन्डिजले पनि विश्वकप छनोट खेल खेल्नुपर्ने भएको छ । वेस्ट इन्डिजले लगातार तेस्रो पटक विश्वकप छनोट खेल्ने भएको हो ।
वेस्ट इन्डिजले भारतसँग २ वटा एकदिवसीय क्रिकेट खेल्न बाँकी छ, तर ती खेलहरू जीते पनि वरीयताको शीर्ष ८ मा उक्लिने सम्भावना छैन । अहिले वेस्ट इन्डिज एकदिवसीय वरीयताको दशौँ स्थानमा रहेको छ ।
यही वर्षको सेप्टेम्बर ३० मा सार्वजनिक हुने आईसीसी एकदिवसीय वरीयतामा शीर्ष ८ मा रहने टोली सीधै आउँदो वर्षको विश्वकपमा छनोट हुनेछन् । यद्दपि आयोजक देश दक्षिण अफ्रिका र जिम्बावेका लागि वरीयता आवश्यक छैन । अर्काे आयाेजक देश नामिबियाले भने छनाेट खेल्नुपर्नेछ ।







