संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेरेसले विश्वभर ‘एल निनो’ को प्रभाव महसुस हुन थालेसँगै विश्व चरम मौसमी अवस्थाको जोखिमपूर्ण क्षेत्रमा प्रवेश गरेको चेतावनी दिनुभएको छ ।
विश्व मौसम विज्ञान सङ्गठन (डब्ल्यूएमओ) ले प्राकृतिक मौसमी घटनासम्बन्धी नयाँ तथ्याङ्क सार्वजनिक गरेको छ जसले अहिलेको ‘एल निनो’ ७६ वर्षयताकै शक्तिशाली हुन सक्ने र कम्तीमा सन् २०२७ को फेब्रुअरीसम्म रहन सक्ने देखाएको छ ।
‘एल निनो’ ले विश्वभरको मौसम प्रणालीमा परिवर्तन ल्याउँछ, यसले कतिपय क्षेत्रलाई खडेरीको चपेटामा पार्छ भने अन्य क्षेत्रमा शक्तिशाली आँधी र बाढीको अवस्था सिर्जना गर्छ ।
मानवीय गतिविधिका कारण भइरहेको विश्वव्यापी तापक्रम वृद्धिमा ‘एल निनो’ थपिएर केही ठाउँहरूमा तापक्रम अझ बढाउने मौसमविद्हरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
विश्व मौसम विज्ञान सङ्गठनले ‘एल निनो’ सँग सम्बन्धित चरम मौसमी घटनाहरूको सम्भावित पूर्वानुमान सकेसम्म धेरै समुदायसम्म पुर्याउने प्रयासस्वरूप व्यापक परिचालन शुरू गरेको जनाएको छ ।
सङ्गठनकी महासचिव सेलेस्टे साउलोले ‘एल निनो’ ले विश्वभरका समुदाय र अर्थतन्त्रमा ठूलो धक्का पुर्याउने क्षमता राख्ने चेतावनी दिनुभएको छ ।
मौसमविद्का अनुसार अहिलेको ‘एल निनो’ सम्भवतः निकै ठूलो अन्तरले कम्तीमा सन् १९५० यताकै सबैभन्दा शक्तिशाली बन्ने सम्भावना छ ।
‘एल निनो’ समुद्रको पानी सामान्यभन्दा बढी तातेको अवस्था हो । प्रशान्त महासागरको सतहमाथिको तापक्रममा ० दशमलव ५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम वृद्धि कायम रहेको अवस्थामा त्यसको विश्वव्यापी असर पर्छ । यो असरले वायुको नियमित प्रणालीलाई खलबल्याउँदा पैदा हुने अवस्था नै एल निनो प्रभाव हो ।







