गृहपृष्ठ खबर मधुवन सामुदायिक वनको २१औँ साधारण सभा सम्पन्न

मधुवन सामुदायिक वनको २१औँ साधारण सभा सम्पन्न

बाणगंगा, १८ भदौ । वाणगंगा नगरपालिका–८ स्थित मधुवन सामुदायिक वन उपभोक्ता समूहको २१औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । वन कार्यालय परिसरमा सम्पन्न साधारण सभामा सामुदायिक वनको संरक्षण, दिगो व्यवस्थापन, आयआर्जन तथा उपभोक्ताको हितसँग जोडिएका विभिन्न विषयमा छलफल गरिएको छ ।

साधारण सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि सब–डिभिजन वन कार्यालय तौलिहवाका प्रमुख प्रभात सापकोटाले सामुदायिक वनको संरक्षण र व्यवस्थापनमा उपभोक्ताको सक्रिय सहभागिता आवश्यक रहेको बताए । वन संरक्षणसँगै वनबाट प्राप्त स्रोतसाधनको दिगो र वैज्ञानिक व्यवस्थापन गर्न सके उपभोक्ताले त्यसको प्रत्यक्ष लाभ लिन सक्ने उनको भनाइ थियो ।

उनले वन क्षेत्रको संरक्षणसँगै वातावरणीय सन्तुलन कायम राख्न, वन पैदावारको उचित व्यवस्थापन गर्न तथा वन ऐन, नियम र कार्यविधिको पालना गर्दै सामुदायिक वनलाई थप व्यवस्थित बनाउनुपर्नेमा जोड दिए ।- पालिका पत्र

कार्यक्रममा वाणगंगा नगरपालिका–८ का वडा अध्यक्ष बाबुराम अर्यालले सामुदायिक वन स्थानीय समुदायको साझा सम्पत्ति भएकाले यसको संरक्षण र विकासमा सबै उपभोक्ता जिम्मेवार बन्नुपर्ने बताए । वन संरक्षणसँगै उपभोक्ताको आर्थिक तथा सामाजिक हितमा समेत सामुदायिक वनले प्रभावकारी भूमिका खेल्नुपर्ने उनको भनाइ थियो ।

सभामा मधुवन सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दीपककुमार सापकोटाले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै सचिव देवकला सुनारले वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष राधिका थापाले आर्थिक प्रतिवेदन तथा लेखा समिति संयोजक मोहनप्रसाद अधिकारीले लेखा सुपरिवेक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रस्तुत प्रतिवेदनमाथि सहभागी उपभोक्ताहरूले छलफल तथा सुझाव दिएका थिए । छलफलका क्रममा वन क्षेत्रको संरक्षणलाई थप प्रभावकारी बनाउने, वन व्यवस्थापनमा उपभोक्ताको सहभागिता बढाउने तथा सामुदायिक वनबाट प्राप्त हुने लाभलाई उपभोक्तामैत्री ढंगले उपयोग गर्ने विषयमा जोड दिइएको थियो ।

सम्बन्धित् समाचार