काठमाण्डौ – मतदाता नामावली र निर्वाचन प्रक्रियालाई लिएर भारतमा युवाहरूले शुरु गरेको आन्दोलनको आज तेस्रो दिन हो ।
कक्रोच जनता पार्टीको नेतृत्वमा हिजो भएको प्रदर्शनका क्रममा दिल्लीमा प्रदर्शनकारी पक्राउ परेका छन् भने आन्दोलनकारीले प्रमुख निर्वाचन आयुक्तको राजीनामा मागेका छन् ।
मतदाता नामावलीमा भएको भनिएको हेरफेरको विरोध गर्दै प्रदर्शनकारीले भारतका प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा मागिरहेका छन् ।
झण्डै एक सय प्रदर्शनकारीले सुरक्षा घेरा पार गरेपछि प्रहरीले केहीलाई नियन्त्रणमा लिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । कक्रोच जनता पार्टीका संस्थापक अभिजीत दीपकेले अक्टोबर १० मा दिल्लीको जन्तर–मन्तरमा फेरि ठूलो प्रदर्शन गर्ने घोषणा गर्नुभएको छ ।
यस्तै फ्रान्समा पनि पछिल्ला दिनमा सयौँ विद्यालय प्रभावित हुने गरी विद्यार्थीले प्रदर्शन गरेका छन् । शिक्षा क्षेत्रको अवस्था सुधारको माग गर्दै विद्यार्थी आन्दोलन देशव्यापी बनेको छ ।
विद्यार्थीहरूले कक्षाकोठामा अत्यधिक विद्यार्थी संख्या, शिक्षक तथा कर्मचारीको अभाव, विद्यालय भवनको कमजोर अवस्था र शिक्षा क्षेत्रमा पर्याप्त लगानी नभएको लगायतका विषय उठाएका छन् । सेप्टेम्बर २१ बाट सुरु भएको विद्यार्थी आन्दोलन राजधानी पेरिस आसपासबाट देशका अन्य क्षेत्रमा फैलिएको हो ।
अक्टोबर २ अर्थात अस्ति सम्ममा झण्डै चार सय उच्च माध्यमिक विद्यालय बन्द भएका र पाँच सयभन्दा बढी विद्यालयमा प्रदर्शन वा अवरोध भएको फ्रान्सेली शिक्षा मन्त्रालयको विवरण उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।







