गृहपृष्ठ Featured भारतीय मूलकी नवी पिल्लईलाई नोबेल शान्ति पुरस्कार

भारतीय मूलकी नवी पिल्लईलाई नोबेल शान्ति पुरस्कार

दक्षिण अफ्रिकामा जन्मिएकी भारतीय मूलकी न्यायधीश नवनथेम ‘नवी’ पिल्लईले सन् २०२६ को नोबेल शान्ति पुरस्कार जितेकी छन्।

संयुक्त राष्ट्रसंघकी पूर्वमानव अधिकार उच्चायुक्त तथा अन्तर्राष्ट्रिय न्यायालयकी न्यायाधीश ८५ वर्षीया पिल्लईलाई शान्ति प्रवर्द्धन र अन्तर्राष्ट्रिय कानुनको सम्मानका लागि गरेको योगदानको कदर गर्दै पुरस्कार प्रदान गरिएको नर्वेजियन नोबेल समितिले शुक्रबार घोषणा गरेको हो।

समितिका अध्यक्ष योर्गेन वाट्ने फ्राइडनेसले पिल्लईको काम शान्तिपूर्ण विश्व निर्माण गर्न चाहने सबैका लागि आशा र प्रेरणाको स्रोत भएको बताए।

विश्वमा युद्ध र द्वन्द्व बढिरहेका बेला अन्तर्राष्ट्रिय कानुनका न्यायाधीश तथा संस्थाहरू राजनीतिक आक्रमणको निशानामा परेको समितिले जनाएको छ।

यस्तो अवस्थामा बल प्रयोग वा हिंसाबिना द्वन्द्व समाधान गर्न अन्तर्राष्ट्रिय कानुनी व्यवस्थाको भूमिका महत्वपूर्ण रहेको सन्देश दिन पुरस्कार प्रदान गरिएको समितिको भनाइ छ।

‘युद्ध अपराधीलाई जवाफदेही बनाइने र दुर्व्यवहारका पीडितले न्याय पाउने अन्तर्राष्ट्रिय कानुनी प्रणाली शान्तिपूर्ण विश्वका लागि पूर्वसर्त हो,’ समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

Laxmi bank

रंगभेदविरूद्धको संघर्षदेखि अन्तर्राष्ट्रिय न्यायसम्म

पिल्लईको जन्म सन् १९४१ मा दक्षिण अफ्रिकाको डरबनमा भारतीय तमिल मूलको परिवारमा भएको थियो। उनका हजुरबुवा भारतबाट उखु खेतीमा काम गर्न करारमा दक्षिण अफ्रिका पुगेका थिए।

Ncell

दक्षिण अफ्रिकामा रंगभेदी शासन कायम रहेका बेला उनले कानुन व्यवसायीका रूपमा विभेद विरूद्ध संघर्ष गरेकी थिइन्। पछि उनी देशको न्यायिक क्षेत्रमा महत्वपूर्ण जिम्मेवारीमा पुगिन् र सन् १९९५ मा दक्षिण अफ्रिकाको उच्च अदालतमा नियुक्त हुने पहिलो महिला बनिन्।

उनले अन्तर्राष्ट्रिय फौजदारी न्यायका क्षेत्रमा पनि काम गरिन्। सन् २००३ देखि २००८ सम्म उनी अन्तर्राष्ट्रिय फौजदारी अदालतको न्यायाधीश रहिन्। त्यसपछि सन् २००८ देखि २०१४ सम्म संयुक्त राष्ट्रसंघको मानवअधिकार उच्चायुक्तका रूपमा काम गरिन्।

मानव अधिकार संरक्षण, युद्ध अपराधको जवाफदेहिता र अन्तर्राष्ट्रिय न्यायिक संस्थाहरूको भूमिकालाई बलियो बनाउने उनको प्रयासले विश्वव्यापी महत्व पाएको छ।

यस वर्षको पुरस्कारले अन्तर्राष्ट्रिय कानुन र न्यायको सम्मानलाई विशेष महत्व दिएको छ। विश्वका विभिन्न क्षेत्रमा युद्ध जारी रहेका र अन्तर्राष्ट्रिय संस्थाहरूको निष्पक्षता तथा प्रभावकारितामाथि प्रश्न उठिरहेका बेला पिल्लईको चयनलाई कानुन मार्फत शान्ति कायम गर्नुपर्ने आवश्यकता माथिको जोडका रूपमा हेरिएको छ।

नर्वेजियन नोबेल समितिले यस वर्षको पुरस्कारका लागि २८७ उम्मेदवारको नाम प्राप्त गरेको थियो। तीमध्ये एक चौथाइभन्दा केही बढी संस्था थिए।

शान्ति पुरस्कारको १२५ वर्ष

यस वर्ष नोबेल शान्ति पुरस्कार स्थापना भएको १२५ वर्ष पुगेको छ। सन् १९०१ देखि हालसम्म यो पुरस्कार ११२ जना व्यक्ति र २८ वटा संस्थाले प्राप्त गरिसकेका छन्। रेडक्रसले तीन पटक र संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्तको कार्यालयले दुई पटक यो पुरस्कार पाएका छन्।

विश्वयुद्धका वर्षहरूसहित १९ पटक भने पुरस्कार प्रदान गरिएको थिएन। सन् १९४८ मा महात्मा गान्धीको हत्या भएको वर्ष पनि पुरस्कार प्रदान गरिएन। गान्धीलाई १२ पटक पुरस्कारका लागि मनोनयन गरिएको थियो, तर उनले कहिल्यै पाएनन्।

गत वर्ष भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना माचादोले नोबेल शान्ति पुरस्कार जितेकी थिइन्। उनले आफ्नो देशमा लोकतान्त्रिक परिवर्तनका लागि गरेको संघर्षको कदर गर्दै उनलाई पुरस्कार प्रदान गरिएको थियो।

अमेरिकाले भेनेजुएलाका तत्कालीन राष्ट्रपति निकोलस मदुरोलाई सत्ताबाट हटाएपछि माचादोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफ्नो नोबेल पदक दिएकी थिइन्। तर नोबेल समितिका अनुसार पुरस्कार औपचारिक रूपमा अर्को व्यक्तिलाई हस्तान्तरण गर्न मिल्दैन।

यस वर्ष नोबेल पुरस्कारको राशि करिब १२ लाख अमेरिकी डलर छ। पिल्लईले यो पुरस्कार डिसेम्बर १० मा ओस्लोमा आयोजना हुने समारोहमा प्राप्त गर्नेछिन्।

नोबेल पुरस्कारका लागि राष्ट्रप्रमुख, राष्ट्रिय राजनीतिमा सक्रिय सांसद तथा मन्त्री, विश्वविद्यालयका प्राध्यापक, विदेश नीति अध्ययन संस्थाका निर्देशक, पूर्व नोबेल पुरस्कार विजेता र नर्वेजियन नोबेल समितिका सदस्य लगायतले उम्मेदवार मनोनयन गर्न सक्छन्। मनोनयन सम्बन्धी विवरण भने सामान्यतया ५० वर्षसम्म सार्वजनिक गरिँदैन।

सम्बन्धित् समाचार