काठमाण्डाै – बेलायतका फुटबल क्लबहरू आर्थिक जोखिमको ‘खतरनाक अवस्था’ मा रहेको त्यहाँको स्वतन्त्र फुटबल नियामक निकाय (आईएफआर) ले जनाएको छ ।
हिजो सार्वजनिक भएको प्रतिवेदनमा शीर्ष पाँच डिभिजनका ९४ प्रतिशत क्लबहरू घाटामा सञ्चालन भइरहेको पाइएको छ ।
गएको वर्ष स्थापना भएको आईएफआर ले इङ्ग्लिश फुटबलको आर्थिक दिगोपन सुधार्ने ६ बुँदे योजनाको एक भागका रूपमा लागतमा अझ कडा नियन्त्रण र आकस्मिक योजनाको प्रस्ताव गरेको छ ।
‘स्टेट अफ द गेम’ प्रतिवेदनको मस्यौदाले ‘इङ्ग्लिश फुटबल लिग’ र ‘नेशनल लिग’ का झन्डै दुईतिहाइ क्लबहरू ‘प्राविधिक रूपमा टाट पल्टिएको’ अवस्थामा रहेको र मालिकहरूबाट प्राप्त हुने नगद सहयोगमा बढ्दो रूपमा निर्भर रहेको देखाएको छ ।
‘हाम्रा केही क्लबहरू विश्वकै सबैभन्दा धनी र प्रतिस्पर्धात्मक क्लबहरूमध्ये पर्छन् भने अरू कतिपय क्लबहरू आर्थिक सङ्कटको सङ्घारमा उभिएका छन् । धेरैजसो क्लबहरूले आफ्ना मालिकहरू पछि हटे पनि आफूहरू अस्तित्वमा रहन नसक्ने बताएका छन्’, आईएफआरका अध्यक्ष डेभिड कोगनले भन्नुभयो ।
नियामक निकायले क्लबहरूले वित्तीय जोखिमको अझ प्रभावकारी रूपमा व्यवस्थापन गर्नुपर्ने तथा मालिकहरूले आफ्नो सहयोग फिर्ता लिएको खण्डमा सामना गर्न आकस्मिक योजनाहरू तयार राख्नुपर्ने बताएको छ ।








