गृहपृष्ठ Featured चौथो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा वेस्ट इन्डिजले भारतलाई हरायो

चौथो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा वेस्ट इन्डिजले भारतलाई हरायो

काठमाण्डौ – चौथो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा वेस्ट इन्डिजले भारतलाई २४ रनले पराजित गरेको छ ।

हैदराबादमा रहेको राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हिजो वेस्ट इन्डिजले दिएको २४८ रनको लक्ष्य पछ्याएको भारत १९ ओभर ३ बलमा २२३ रनमा समेटियो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २४७ रन बनाएको थियो । वेस्ट इन्डिजका कप्तान शाई होपले आक्रामक ब्याटिङ गर्दै ५० बलमा अविजित १०२ रन बनाए । उनले नौ छक्का र चार चौका प्रहार गरे । शेरफेन रदरफोर्डले पनि २६ बलमा अविजित ४९ रन जोडे ।

त्यस्तै, शिमरोन हेटमायरले १२ बलमा ३३ तथा रोभमन पावेलले १७ बलमा २४ रन बनाए । भारतका प्रिन्स यादवले एक विकेट लिए । २४८ रनको लक्ष्य पछ्याएको भारतका सञ्जु सामसनले २३ बलमा चार छक्का र छ चौकासहित ५६ रन बनाए । भारतका तिलक वर्माले २५ बलमा ४३ तथा नितिश कुमार रेड्डीले २० बलमा ४१ रन बनाए ।

वेस्ट इन्डिजका केमो पलले पाँच तथा गुडाकेश मोतीले दुई विकेट लिए । शतक बनाएका शाई होप टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा वेस्ट इन्डिजका लागि तीन शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् ।

त्यस्तै, केमो पलले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो दोस्रो पाँच विकेटको उपलब्धि हासिल गरेका छन् । वेस्ट इन्डिजले भारतसँगको चौथो खेल जित्दै शृङ्खला बराबरीमा पुर्‍याएको छ ।

अब दुवै टोलीबीचको पाँचौँ तथा निर्णायक खेलले शृङ्खलाको विजेता टुङ्गो लाग्नेछ । पाँचौ खेल पर्सि शनिवार बैङ्गलुरुको एम.चिन्नास्वामी स्टेडियममा हुनेछ ।

सम्बन्धित् समाचार