भारत पश्चिम बङ्गालको राजधानी कोलकातामा दुर्गा पूजाका क्रममा भएको भाग दौडमा कम्तीमा १९ जनाको ज्यान गएको छ । २५ जना घाइते भएका छन् ।
बीबीसी हिन्दीकाअनुसार गएराति पानी पर्न थालेपछि मण्डप नजिकै भेला भएका मानिस ओत लाग्न दौडिँदा भागदौड मच्चिएको थियो । केही दर्शनार्थी सडकमा लडेपछि भीड अनियन्त्रित बनेको प्रहरीको भनाइ छ ।
भागदौडका क्रममा घाइते भएकाहरूको कोलकाता मेडिकल कलेज तथा अन्य अस्पतालमा उपचार भइरहेको छ । अस्पताल पुग्नुभएका पश्चिम बङ्गालका मुख्यमन्त्री सुभेन्दु अधिकारीले राज्यको उच्च अदालतका न्यायाधीशको नेतृत्वमा विशेष अनुसन्धान टोली गठन गरी घटनाको छानबिन गरिने जानकारी दिनुभएको छ ।
प्रहरीले घटनाबारे अनुसन्धान गर्न दुर्गा पूजा मण्डपका आयोजक, निजी सुरक्षाकर्मी तथा ड्युटीमा खटिएका कर्मचारीलाई पक्राउ गरेको छ । भारतमा धार्मिक पर्वका क्रममा भीड अनियन्त्रित हुँदा भागदौडका घटना पटक पटक हुँदै आएका छन् ।









