फ्रान्समा महँगी र खस्किँदो शैक्षिक अवस्थाको विरोधमा भएका पछिल्ला प्रदर्शनका क्रममा १ हजार ३०० भन्दा धेरै मानिस पक्राउ परेका छन् ।
राजधानी पेरिससहित मार्सेली, लियोन र बोर्डोजस्ता प्रमुख शहरहरूमा स्थिति तनावग्रस्त बनेको बीबीसीले जनाएको छ ।
आयोजक मजदुर युनियनहरूले ८ लाख मानिस सडकमा निस्किएका दाबी गरेको छ । तर गृह मन्त्रालयले भने झन्डै ४ लाख १० हजार प्रदर्शनकारी सहभागी भएका जनाएको छ ।
शान्तिपूर्ण रूपमा शुरू भएको प्रदर्शन पछि हिंसात्मक झडपमा परिणत भएको हो । प्रदर्शनकारीहरूले सडकमा बार हालेर आगजनी गर्नुका साथै पसलका सिसा फुटाएपछि प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको छ ।
झडपका क्रममा ५३ जना प्रहरी घाइते भएका छन् । केही प्रदर्शनकारी गम्भीर घाइते भएका बीबीसीले जनाएको छ । स्थिति नियन्त्रणमा लिन फ्रान्स सरकारले देशभर ७० हजार सुरक्षाकर्मी परिचालन गरेको छ ।
राष्ट्रपति इम्यानुएल म्याक्रोनले युनियनहरूद्वारा आयोजित अधिकारिक प्रदर्शनलाई मात्र अनुमति दिने घोषणा गर्नुभएको छ ।
महँगी र जीवनस्तर खस्केको भन्दै फ्रान्सका साथै इटालीको मिलान, स्पेनको बार्सिलोना र अल्बानियाको तिरानाजस्ता युरोपेली शहरहरूमा पनि प्रदर्शन र झडपका घटना भएका छन् ।
राष्ट्रपतीय चुनाव नजिकिँदै गर्दा फ्रान्समा राजनीतिक तनाव झनै बढेको हो ।







