काठमाण्डाै – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको गैरकानूनी कामले हद नाघेको आरोप लगाउनुभएको छ ।
ललितपुरकाे सानेपामा रहेकाे पार्टी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा सभापति थापाले सञ्चारमाध्यममा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटना गम्भीर आपत्तिजक भएको बताउनुभयो । प्रेस स्वतन्त्रता, नागरिक अधिकार र लोकतान्त्रिक मूल्य–मान्यतामाथि हस्तक्षेप गर्ने प्रवृत्ति सामान्य नभएको उहाँको भनाइ छ ।
कांग्रेसले सरकारलाई आवश्यक पर्दा सहयोग गर्ने र राष्ट्रिय सङ्कटका बेला सरकारसँगै उभिने गरे पनि लोकतन्त्र र नागरिक अधिकारको सवालमा भने सरकारको गलत कदमको प्रतिवाद गर्ने थापाले उल्लेख गर्नुभयाे । दबावपछि पक्राउ परेका पत्रकारहरू छुटे पनि यस घटनालाई केही पत्रकार पक्राउ परेको विषयमा मात्र सीमित गर्न नहुने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘लोकतन्त्र र नागरिकको अधिकारको सन्दर्भमा सरकारले सीमा नाघ्छ भने त्यो बेलामा हामी चुप बस्दैनौँ । हामी प्रश्न गर्छाैँ । हामी उपयुक्त नीतिको पैरवी गर्छाैँ । आवश्यक पर्याे भने प्रतिवाद र प्रतिरोध पनि गर्छाैँ । लाेकतन्त्रमा सरकारसँग अधिकार हुन्छ, हामी त्यसलाई मान्छौँ । तर सरकारको अधिकार कहाँबाट उत्पन्न हुन्छ ? कानूनबाट उत्पन्न हुन्छ । तर सरकारमा बसेकाहरूलाई मेरो इच्छा नै कानून हो भन्ने लाग्न थाल्छ भने त्यसपछि समस्या शुरू हुन्छ । अहिले भएको त्यही नै हो । यो अलिअलि भइरहेको थियो, यसलाई हामीले कहिलेकाहीँ हेर्याैँ, सुन्यौँ, सामान्यीकरण गर्याैँ । यसले अब हद नाघेको छ ।’
सभापति थापाले सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दोहोरो चरित्रको समेत चर्चा गर्नुभएको छ । सरकारले कुनै राम्रो काम गर्दा मरिहत्ते गरेर श्रेय लिने तर आफ्नै मन्त्रालय र नेतृत्वबाट गलत निर्णय हुँदा वा कानूनी मर्यादा उल्लङ्घन हुँदा जिम्मेवारीबाट पन्छिने रास्वपाको प्रवृत्तिका कारण अराजकता बढेको उहाँको आरोप छ ।
थापाले बिचौलियासँग जोडिएका सबै प्रकरणको गहिराइमा पुगेर निष्पक्ष अनुसन्धान गर्न सरकारसँग माग गर्नुभएको छ ।
– न्युज एजेन्सी नेपाल







