नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एमाले) सहित सबै वामपन्थी शक्तिहरूलाई एकताको लागि आह्वान गरेका छन्।
मंगलबार काठमाडौंमा आयोजित नेपाली कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीचको पार्टी एकता घोषणा कार्यक्रममा बोल्दै संयोजक दाहालले यस्तो आह्वान गरेका हुन्।
उनले अहिले मुलुक असाधारण संकटमा रहेको उल्लेख गर्दै सबै खालका आग्रह, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर राष्ट्रलाई प्राथमिकतामा एकतावद्ध हुनुपर्ने आवश्यकता रहेको बताए।
उनले विगतमा विभिन्न कोणबाट एकता र सहकार्य गर्दा भोगेका उतारचढावहरूको आत्मसमीक्षा गर्दै मुलुकको स्वाधीनताको रक्षाका निम्ति फेरि एक पटक एकतावद्ध हुन जरुरी रहेको बताए।
हिजो माओवादी र एमालेका विभिन्न धारमा रहेका नेता कार्यकर्ताहरुलाई जोड्ने जिम्मेवारी समेत आफूहरुकै काँधमा रहेको उनको भनाइ छ।
‘नेकपा एमालेदेखि हिजो माओवादी र एमालेका विभिन्न धारामा रहेका सबै समूहहरूलाई पनि एकतावद्ध गर्ने जिम्मेवारी तपाईं–हामी सबैको काँधमा छ। माधवजीले केपी ओलीको नाम लिँदाखेरि अलिकति के हुने हो भन्नुभयो, मलाई चाहिँ त्यस्तो लागेको छैन’ उनले भने, ‘ केपी ओलीसमेत मोहन विक्रमजी समेत, मोहन वैद्य किरण, नेत्रविक्रम चन्द विप्लव लगायत सबै बाँकी कम्युनिस्ट समूहहरूलाई पनि अघि उमा भुजेलले भनेजस्तै आजको देशको वस्तुगत आवश्यकता बनेको छ कम्युनिस्टहरूको एकता, देशभक्त र लोकतन्त्रवादीहरूको एकता एउटा ऐतिहासिक आवश्यकता बनेको छ।’
उनले अहिले देशको अस्तित्व नै संकटको अवस्थामा पुगेको भन्दै यसतर्फ सबैले सोच्नुपर्ने बेला आएको पनि स्पष्ट पारे।







