स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले आगामी पाँच वर्षभित्र संविधानमा उल्लेख भएको स्वास्थ्यसम्बन्धी मौलिक हक कार्यान्वयन गर्ने गरी सबै नेपालीलाई निःशुल्क स्वास्थ्य सेवा दिने आधार तयार पार्ने दाबी गरेका छन्।
उनले आगामी दुई वर्षमा न्यून आय भएका गरिब, विपन्न र निमुखा जनतालाई सबै किसिमका स्वास्थ्य सेवा निःशुल्क गराउनेसमेत स्पष्ट पारे।
आफूले मन्त्रालयको नेतृत्व सम्हालेपछि मन्त्रालयको भौतिक पूर्वाधार व्यवस्थित र सरसफाइ गर्न लगाएको, मौलिक हकअनुसारको आधारभूत सेवा निःशुल्क गर्न सबै अस्पतालमा १० प्रतिशत शय्या उपचारसहित निःशुल्क गर्ने व्यवस्था कार्यान्वयन गरेको, अनावश्यक रूपमा उपकरण खरिद गरी हुने गरेका बेथिति नियन्त्रण गरी व्यवस्थित गरेको, बहिरंग सेवामा अनलाइन टिकटको व्यवस्था गरेको र बिहान ८ बजेदेखि नै थालनी गरेकोलगायतका सुधार गरेको उनले जानकारी गराए।
अस्पतालका औषधि पसलमा पनि नियमित अनुगमन गरिएको बताउँदै उनले पहुँचवाला करिब आठ सय स्वास्थ्यकर्मी कर्मचारीले लामो समयदेखि केन्द्रीय र प्रदेश राजधानीका साथै सुविधासम्पन्न सहरमा काजमा बस्दै आएकोमा उनीहरूलाई दुर्गम र मुलुकका सबै स्थानमा पठाउन सुरु गरिएकोसमेत बताए।
स्वास्थ्य क्षेत्रमा विभिन्न सुधार गरी यस क्षेत्रमा थिति बसालेको उनले दाबी गरे। आफूलाई यस काममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राम्रो काम गरेको भन्दै थप हौसला प्रदान गरेको उनको भनाइ थियो। मन्त्री बस्नेतले आगामी १५ दिनमा दुर्गम र मुलुकका सबै स्थानमा चिकित्सक र स्वास्थ्यकर्मी पठाइसक्ने बताए।








