कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका- १ मा अवस्थित सिद्धार्थ क्याम्पस बाणगंगाको प्राङ्गणमा फोटो जोनको उद्घाटन गरिएको छ ।
स्नातक तहको भर्ना अभियानलाई लक्षित गरि आज एक कार्यक्रमका बीच फोटो जोनको उद्घाटन गरिएको हो ।
क्याम्पस प्रमुख बेदराम अर्यालले उक्त फोटो जोनमा पहिलो फोटो खिचेर कार्यक्रमको उद्घाटन गर्नुभएको हो। क्याम्पस प्रमुख अर्यालले फोटो जोनले भर्ना अभियानलाई प्रभावकारी रुपमा अघि बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रम क्याम्पसको सामाजिक सम्बन्ध तथा सूचना एकाईको संयोजनमा भएको हो ।
फोटो जोनमा क्याम्पसका प्राध्यापक, कर्मचारी, स्ववियु पदाधिकारी र विद्यार्थीहरूले फोटो खिचेका थिए ।
भर्ना अवधिभर फोटो जोन सञ्चालनमा रहने सामाजिक सम्बन्ध तथा सूचना एकाई संयोजक कुलराज भुसालले जानकारी दिनुभयो ।
प्रविधि तथा सामाजिक संजालको बढ्दो प्रयोगलाई ध्यानमा राखेर प्रचारप्रसारको शैलीमा नविनता थप्न फोटो जोन संचालनमा ल्याइएको संयोजक भुसालले बताउनुभयो ।
फोटो जोनले भर्ना अभियानलाई व्यापकता दिलाउनुको साथै क्याम्पसको सिर्जनालाई समेत झल्काउने उहाँको भनाई छ ।

यसैबीच क्याम्पसले आजै एक कार्यक्रमकाबीच कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु सम्मान गरेको छ ।








