वैखरी अनलाईन, बाणगंगाा ।
कपिलवस्तुको बाणगंगा नगरपालका- १ मा अवस्थित सिद्धार्थ क्याम्पसमा आयोजित तीज गीत तथा नृत्य प्रतियोगितामा पुष्पा चौलागाईंको समूह प्रथम भएको छ । उक्त प्रतियोगिता क्याम्पसको अतिरिक्त क्रियाकलाप समिति र स्ववियूको संयुक्त आयोजनामा भएको हो ।
प्रतियोगितामा अमृता क्षेत्रीको समूहले द्धितीय, अमृता खनालको समूह तृतीय र सपना गैरेको समूहले सान्त्वना स्थान हासिल गरेको अतिरिक्त क्रियाकलाप समिति संयोजक रमेश पौडेलले जानकारी दिए ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने समूहले प्रोत्साहन स्वरुप प्रमाण पत्रसहित क्रमशः रु ५०००, ३०००, २००० र १००० पुरस्कार प्रदान प्राप्त गरेका छन् ।
प्रतियोगी समूहहरुले ‘देश विकासको आधार स्वदेशमै शिक्षा र रोजगार’ विषयमा गित तथा नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रम संयोजक रमेश पौडेलले पछिल्लो समय तीजको मौलिकतामा आएको ह्रासलाई कम गर्दै संस्कृतिको जर्गेना गर्ने उद्देश्यले कार्यक्रम गरिएको बताए । विधार्थीहरुको चौतर्फी विकासमा सिद्धार्थ क्याम्पस रचनात्मक तवरले अघि बढिरहेको बताउँदै उनले भने, ‘परम्परा, भेषभुषालाई जोगाउँन सबै प्रतिवद्ध हुनुपर्दछ ।’

उक्त कार्यक्रम स्ववियू सचिव पशुपति गिरीको संचालनमा सम्पन्न भएको हो ।









