गृहपृष्ठ Featured पछि हट्यो मन्त्रालय, ‘पाँच पाण्डव’को टिम भन्छ– सिनेमा रिलिज हुने आश्वासन पायौँ

पछि हट्यो मन्त्रालय, ‘पाँच पाण्डव’को टिम भन्छ– सिनेमा रिलिज हुने आश्वासन पायौँ

काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले चलचित्र ‘पाँच पाण्डव’को निर्माण टिमलाई छलफलका लागि बोलाएको छ ।

‘पाँच पाण्डव’को निर्माण टिमले सञ्चार मन्त्रालयले बिहीबार बिहान छलफलका लागि आफूहरूलाई बोलाएको बताएको छ ।

यसअघि मन्त्रालयले चलचित्र रोक्न विभिन्न संघसंस्थाबाट आग्रह आएकाले सुरक्षाका कारण रोक्नु पर्ने अवस्था आयो भन्दै पत्र बुझ्न आउनु भन्दै सञ्चार मन्त्रालयबाट फोन आएको ‘पाँच पाण्डव’का निर्देशक वसन्त निरौलाले बताएका थिए ।

“पछि अहिलेलाई आउनु परेन, हामी भोलि बिहान १०/११ बजे बोलाउँछौँ भनेर सञ्चार मन्त्रालयबाट फोन आएको छ,” निर्देशक निरौला भन्छन्, “लिखित रूपमा पत्र आएको छैन । मौखिक मात्रै हो । नेपालभर सिनेमा प्रदर्शन रोक्न भनेको होइन, बाँकेमा मात्रै हो भन्ने पनि कुरा आएको छ । यसबारे भोलि नै थाहा हुन्छ ।”

चलचित्रको प्रदर्शन रोक्न निर्देशन भन्ने समाचार सार्वजनिक भएपछि निर्माण टिमको आग्रह र जाँचपास समितिको अडानपछि मन्त्रालय पछि हटेको छ ।

“हामीले सञ्चारमन्त्रीसँग पनि आफ्नो कुरा राख्यौँ । गृह मन्त्रालयको प्रतिनिधिसमेत भएको जाँच पास समितिले प्रदर्शनको अनुमति दिइसकेको अवस्था किन सिनेमाको प्रदर्शन रोक्ने अवस्था आयो भन्यौँ,” सञ्चारमन्त्री डा. विक्रम तिमिलसिनासँग पनि कुरा भयो, “उहाँले सिनेमा रोकिँदैन भन्नु भएको छ । सायद अब समस्या हुँदैन ।”

‘पाँच पाण्डव’लाई चलचित्र जाँच पास समितिले आज बिहान प्रदर्शनको इजाजत दिएको थियो । यो सिनेमाले युनिभर्सल सर्टिफिकेट पाएको थियो ।

चलचित्र जाँच पास समितिका सदस्य मनोज पण्डित समितिको निर्णय नै सिनेमा प्रदर्शनको हकमा अन्तिम हुने बताउँछन् । “सबै मन्त्रालयका प्रतिनिधि सम्मिलित समितिले पास गरेर सिनेमा प्रदर्शनका लागि योग्य छ भनेपछि त्यही नै आधिकारिक हो,” मनोज भन्छन्, “अर्को मन्त्रालयले के भन्यो भन्ने कुराले अर्थ राख्दैन ।

समितिले काम गरिरहेको अवस्थामा दोस्रो निकायले हस्तक्षेप गर्न मिल्दैन । सिनेमा रोक्ने निर्देशन भन्ने समाचार बाहिर आएपछि हामीले आफ्नो अडान स्पष्ट पारिसकेका छौँ ।” अदालतमा गएको अवस्थामा बाहेक कसैले पनि समितिको निर्णय उल्ट्याउन नसक्ने उनको भनाइ छ ।

हिन्दु धर्मसँग सम्बन्धित विभिन्न संघसंस्थाले यो सिनेमाले पाँच पाण्डव र द्रोपदीलाई गतल हिसाबले चित्रण गरेको भन्दै सञ्चार मन्त्रालयलमा ज्ञापनपत्र बुझाएर प्रदर्शन रोक्न माग गरेका थिए ।

‘पाँच पाण्डव’ यही २० गतेबाट प्रदर्शन हुने तयारीमा छ । आजबाट बुकिङ समेत खुला भइसकेको छ ।

‘पाँच पाण्डव’मा हरिवंश आचार्य युधिष्ठिर, जितु नेपाल भीम, आर्यन सिक्देल अर्जुन, महेश त्रिपाठी नहकुल र सुशील सिटौला सहदेवको पात्रमा छन् । इभा गिरी द्रोपदीको रुपमा रहेको बताइएको छ ।

‘पाँच पाण्डव’मा कथा, पटकथा तथा संवाद सुशील पौडेलको रहेको छ ।

यो चलचित्रका प्रस्तुतकर्ता नवीन श्रेष्ठ हुन् । यो चलचित्रलाई श्याम तामाङले खिचेका छन् । चलचित्रमा सुप्रिम पराजुलीको सम्पादन छ ।

सम्बन्धित् समाचार