बुटवल ।
पश्चिम पाल्पाको रिब्दीकोट गाउँपालिकास्थित पालुङ मैनादी वडा नम्बर – ७ मा पहिलो पटक मैनादी सुन्तला महोत्सव सुरु हुने भएको छ ।
७ नं. वडा कार्यालयको आयोजना, मैनादी कृषि सहकारीको व्यवस्थापन र रिब्दीकोट गाउँपालिकाको संरक्षकत्वमा प्रभात माध्यमिक विद्यालयको प्राङ्गणमा यही मंसिर १६ गते हुने १ दिने सुन्तला महोत्सव पाल्पा जिल्लामै पहिलो सुन्तला महोत्सव हो ।
महोत्सवका लागी १२/ १५ वटा स्टल सहभागी हुनेछन् । उक्त महोत्सवको सहआयोजकका रुपमा सुन्तला तथा फलफुल विकास केन्द्र तानसेन, कृर्षि ज्ञान केन्द्र तानसेन, प्रधानमन्त्री कृर्षि आधुनिकीकरण परियोजना जोन तानसेन र हेफर प्रोजेक्ट नेपाल रहेका छन् । मैनादीमा करिब २ सय घरधुरीले कृषि पेशा अन्तरगत नगदेबालीका रुपमा सुन्तला खेतीलाई मुख्य आम्दानीका रुपमा खेती गर्दै आएका छन् । महोत्सव सञ्चालनका लागी स्थानीय सरकारका रुपमा वडा नम्बर ७ बाट १ लाख ५० हजार सहयोग हुनेछ भने अन्य रकम रिब्दीकोट गाउँपालिकाले सहयोग गर्ने वडा नं. ७ का वडा अध्यक्ष दान बहादुर कुँवरले बताए ।
खासगरी यस क्षेत्रमा सुन्तलाको उत्पादन कृषकले सोचेभन्दा अत्यन्तै राम्रो भएकोले यसको उचित मुल्य तोकी बजारीकरण गर्ने, यस क्षेत्रको प्रचारप्रसारले किसानमा एक प्रकारको हौसला र उत्प्रेरणाका लागि थप ऊर्जा प्रदान गर्नका लागि सुन्तला महोत्सव आयोजना गरिएको मैनादी कृषि सहकारीका अध्यक्ष वेन बहादुर पुनले बताए ।
त्यस्तै गरी सुन्तला सम्बन्धी ज्ञान सीप तालिम वडा कार्यालयले प्राविधिकबाट गराउँदै आएको मैनादी कृषि सहकारीका सचिव केशव कुँवरले बताए । सहकारी त्यसो त वडा तथा पालिकाले किसानहरुले लगाउने सुन्तलाको बेर्नामा ५० प्रतिशत अनुदान , सुन्तलाका लागि खाडल खन्न रकम उपलब्ध र रोग किरा सम्बन्धि तालिम दिदै किसानले उत्पादन गरेको सुन्तला खेतीमा प्रोत्साहन स्वरुप प्रति केजीको २ प्रतिशत अनुदान रकम उपलब्ध गराएको छ ।
सुन्तला बोटमै खरिद गर्नेहरुका लागी किसानले ६५ / ७० प्रति केजीमा उपलब्ध गराउँनेछन् भने बजारमा लगेर बिक्रीका लागी ८०/ १०० प्रति केजीमा दिने भएको छ । यस ठाउको सुन्तला बिशेष गरी देशका विभिन्न शहरहरु भैरहवा, पोखरा, बुटवल, पाल्पा, काठमाडौं र जनकपुर खपत हुने गर्छ ।
रिब्दीकोट – ७ पालुङ्ग मैनादी पछिल्लो समय सुन्तला, टमाटर खेती र पशुपालन व्यवसायसंगै कृषिको पकेट क्षेत्रका रुपमा परिचित हुँदै गएको छ । आजभन्दा ४४ वर्ष अघि मैनादीका समाजसेवी लोकबहादुर कुँवरले व्यावसायिक सुन्तला खेतीको सुरुवात गरेका थिए । त्यसपछि धेरै वर्षसम्म उनी बाहेक अन्यको यो पेशातर्फ ध्यान गएन ।
जब गाउँमा मोटरबाटो जोडियो, त्यसपछि विभिन्न थरीका विउविजन रोपेर गुजारा चलाउने गाउँलेहरू परम्परागत खेती छोडेर क्रमशः आधुनिकताका नाममा नगदेवाली तर्फ फर्किए । घरपरिवारलाई खानका लागि २ – ४ बोट मात्र सुन्तला खेती गर्नेहरूले अहिले विस्तारै सुन्तलाको विरुवाको संख्या थप्दै व्यवसायिक रुपमा सुन्तला खेती गर्न थाले । त्यस्तैगरी केहीले टमाटर खेती र तरकारीजन्य उत्पादनमा जोड दिए भने कतिपयले पोल्ट्रीफार्म सुरुवात गरें ।
गाउँमै सहकारी भएकाले थोरै व्याजदरमा ऋण उपलब्ध हुँदा सानो रकम बचत हुँदै कृषिबाटै घर खर्च सहज रुपमै चल्न थाल्यो । लामो समय विदेशिनेहरू पनि गाउँ फर्केपछि आधुनिक कृषिमा आकर्षित हुँदै गए । जीवनशैलीमा एकाएक परिवर्तन देखिएपछि एकअर्काले सिको गर्न थाले । यही गाउँबाट गत वर्ष सुन्तला मात्रै वार्षिक १ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो भने यस वर्ष २ करोड १० लाख रुपैया पर्ने अनुमान गरिएको छ । त्यस्तैगरी गतवर्ष २ करोड ५० लाख रुपैयाँ बराबरको टमाटर उत्पादन भएको थियो । गाउँमा खोलिएको मैनादी कृषि सहकारी संस्थामा हाल १४० जना सदस्य आबद्ध छन् ।
सहकारीमार्फत मैनादी कृषि उत्पादन संकलन केन्द्र स्थापना गरिएको छ । गाउँलेहरूले उत्पादन गरेको कृषिजन्य वस्तुहरू दैनिक सोही केन्द्र हुँदै नजिकका शहरसम्म पुग्ने गरेको छ । प्रदेश ५ सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट ढुवानीका लागि गत वर्ष जीप अनुदानप्राप्त भयो । बिस्तारै कृषिमा फड्को मार्दै गरेको मैनादीमा गाउँपालिकाले सुन्तला र कागतीका विरुवामा ५० प्रतिशत अनुदान दिएकाले कृषकहरू उत्पादनमा आकर्षित भएका छन् । वैदेशिक रोजगारीबाट फर्केर होस् वा गाउँमै स्वरोजगारी बन्ने उद्देश्यले युवाले कृषि क्षेत्रलाई आकर्षणको केन्द्र मान्दै आएका छन् ।








