वैखरी अनलाईन, बाणगंगा ।
कपिलवस्तुको मायादेवी गाउँपालिकाका अध्यक्ष बलिउद्दिन मुसलमानले पालिकाको समृद्धिका निम्ति राजनीतिक दललगायत समाजका सबै वर्ग एकजुट हुनुपर्ने बताएका छन् ।
वैखरीसंग कुराकानी गर्दै अध्यक्ष मुसलमानले सुशासन प्रवर्द्धनमा पालिका अग्रसर रहेको बताउँदै उनले भने, ‘जनतालाई राजनीतिक परिवर्तनको प्रत्याभूति गराउन सुशासन कायम गर्नु अपरिहार्य भएको छ ।’
उनले शिक्षा, स्वास्थ्यलाई प्राथमिकता दिदैं उत्पादकत्व वृद्धि तथा रोजगारीका अवसर सृजनामा पालिका केन्द्रित रहेको बताए । बजेट अभावका कारण विकास निर्माणका कामलाई तीब्रता दिन नसकिएको गुनासो गर्दै उनले प्रदेश र संघीय सरकारले मायादेवीलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए ।
गाउँपालिकावासीको आशा र भरोसामा खरो उत्रिर्दै आफ्ना चुनावी एजेण्डा पुरा गर्ने उनले दाबी गरे । सामाजिक न्यायमा आधारित आर्थिक रुपान्तरण अहिलेको आवश्यकता भएको उनको भनाई छ ।
उनले आफ्नै कार्यकालमा अहिले जिल्लामा आफ्नो पालिकालाई हेर्ने छ दृष्टिकोणमा परिवर्तन गरेर छाड्ने जिकिर गरे । पालिकामा अधिकांश कृषकको बसोबास रहेकाले समयमै मल, सिंचाईको सहज पहुँच पुर्याउन आवश्यक रहेको बताए ।








