गृहपृष्ठ खबर उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै छठ समापन

उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै छठ समापन

उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठ सोमबार विधिवत् रूपमा सम्पन्न भएको छ।

कात्तिक शुक्ल चतुर्थीदेखि सुरु भएर सप्तमीसम्म विधिपूर्वक मनाइने चार दिवसीय यस अनुष्ठान अन्तर्गत आइतबार साँझ अस्ताउँदो र आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै पर्व समापन भएको हो।

 

पर्वको पहिलो दिन व्रतालुहरूले व्रत सङ्कल्प गरी स्नान गरेर चोखोनितो खाँदै ‘नहाय–खाय’ विधि पूरा गरेका थिए। दोस्रो दिन पञ्चमी तिथिमा दिनभर निराहार व्रत बसी राति सख्खरमा पकाइएको खीर ग्रहण गर्दै ‘खरना’ सम्पन्न गरिएको थियो। त्यसपछि षष्ठीको सन्ध्याकालीन र सप्तमीको प्रभातकालीन अर्घ्य दिएर चार दिन लामो कठोर व्रत पूरा भएको छ।

छठ पर्वका लागि पूजा सामग्री र नैवेद्य तयार गर्दा पवित्रता एवं अत्यन्त सावधानी अपनाइन्छ। ढिकी तथा जाँतोमा परम्परागत तरिकाले कुटिएको र पिसिएको गहुँ एवं चामलको पीठोबाट बनाइएका ठकुवा, भुसुवा, मिष्ठान्न परिकार, माटोको भाँडोमा जमाइएको दही, उखु, मौसमी फलफूल र कोसीया–कुरबार जस्ता सामग्री सूर्यलाई अर्घ्यका रूपमा चढाउने प्रचलन छ।

सम्बन्धित् समाचार