सागर वि.क., वैखरी अनलाईन ।
उद्घाटन मिति नजिकिएसंगै अहिले १४ औं कपिलवस्तु महोत्सवको तयारी धमाधम भईरहेको छ । यही मंसिर २१ गतेदेखि पुष १ गतेसम्म हुने उक्त महोत्सवको तयारीलाई थप तीब्र पारिएको छ । महोत्सव बाणगंगा नगरपालिका- ४ मा रहेको बुद्धरंगशालामा हुदैं छ ।
महोत्सव स्थल सौन्दर्यीकरणको काम भईरहेको महोत्सवका संयोजक समेत रहेका बाणगंगा बेलफेयर सोसाईटीका अध्यक्ष राजकुमार खाँणले बताए । उनका अनुसार हालसम्म ब्राउन्ड्री निर्माण र स्टल निर्माणको काम सम्पन्न भईसकेको छ । वैखरीसंगको कुराकानीमा स्टेज निर्माणको काम भईरहेको बताउँदै उनले भने, ‘अब प्रवेशद्धार, सचिवालय निर्माणको काम पनि सुरु गर्ने तयारीमा छौं ।’
उनले महोत्सवमा करिब २ लाख ५० हजार दर्शक उतार्ने बताउँदै करिब डेढ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार गर्ने लक्ष्य रहेको बताए ।
महोत्सवमा यस पटक पनि कृषिलाई पहिलो प्राथमिकतामा राखिने र कपिलवस्तुको व्यवसायलाई प्रतिबिम्बित गरिने उनले बताए । कोरोनाकालमा समस्यामा परेको आर्थिक क्षेत्र, उद्यमी व्यवसायी र आम सर्वसाधारणलाई आर्थिक पुनरुत्थानको आयामको रुपमा महोत्सवलाई लिन सकिने उनको भनाइ छ ।
महोत्सवका निर्देशक तथा बाणगंगा वेयलफेयर सोसाइटीका महासचिव दिनेश बहादुर रोकाहा ‘दिनेश’ ले कपिलवस्तुको उत्पादनलाई बजारीकरण गर्नका लागि र आर्थिक क्षेत्रलाई पुनरुत्थान गर्न महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहनुका साथै स्थानीय कला र संस्कृति झल्कने झाँकीहरु प्रस्तुत गरिने उनले बताए । उनले महोत्सवमा विभिन्न खानाका स्टलहरु, घरेलु उद्योगमा निर्मित विभिन्न सामग्रीहरुका साथै बालवालिकाहरुका लागि रमाइलो मेलाको व्यवस्था गरिएको बताए ।
स्टल बुकिङ्ग खुला रहेको बताउँदै स्टल संयोजक मिन थापाले हाल बुकिङ्गको काम अन्तिम चरणमा रहेको बताए । उनले औद्योगिक तथा व्यवसायिक वस्तु तथा सेवाहरुको विक्रि तथा प्रवद्र्धनको उद्देश्य राखि स्टल बुकिङ्ग खुला गरेको बताए । समयमै बुकिङ्ग गरि आफ्नो स्टल सुरक्षित गर्न उनले आग्रह समेत गरेका छन् ।








